site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुद्दा दायर गर्न चार दिन बाँकी, दुईको बयान हुँदै, दुई फरार
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी छ  । उक्त प्रकरणमा हालसम्म १६  जना पक्राउ परेका छन् । दुईजना फरार छन् ।
 
बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियाँ र  भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदै छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्युतमणि नेउपानेले उनीहरूको आज बयान सक्ने तयारी रहेको बताएका छन् । नेउपानेका अनुसार आउँदो मंगलबारसम्म अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ । 

यो प्रकरणमा विचौलियाको भूमिकामा रहेका सानु भण्डारी र केशव दुलाल गत चैत १२ गते पक्राउ परेका थिए । उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न सकिने समय आउँदो मंगलबार सकिने हुँदा त्यसभन्दा अगाडि  मुद्दा दर्त गरिसक्नु पर्ने नेउपानेले बताए । 

Argakhachi Cement Island Ad

संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ ले अनुसन्धानका लागि पटकपटक गरी ६० दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ । सोही कारण अदालतमा मंगलबारसम्म नै मुद्दा दायर गर्नु पर्नेछ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता सिताराम रिजाल मुद्दा दायर गर्नुपर्ने दिन नजिकै आइसके पनि, अनुसन्धान टुँगो लागि नसकेको बताउँछन् । पक्राउ परेकाको बयान लिने काम गरिरहेको, केही फरार रहेको र सम्बन्धित अन्य अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

रिजालले आइतबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा दर्ता गराउने प्रयास जारी रहेको बताएका छन् । 
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस प्रकरणका योजनाकार एवं विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ परेका थिए ।

उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र रायमाझीका छोरा सन्दीप रायमाझी, हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल रहेका छन् । यसैगरी केशव दुलाल, सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्