site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुलाकी राजमार्गको सास्तीविरुद्ध आठ सांसद र पाँच पालिका प्रमुख संघर्षमा

विराटनगर । हुलाकी राजमार्ग तराई क्षेत्रको कायाकल्प फेर्ने ‘लाइफ लाइन’का रूपमा हेरिएको योजना हो । तर, मोरङखण्डमा भइरहेको ढिलासुस्तीका कारण सडक निर्माणको काम कहिले पूरा हुने अझै टुंगो छैन ।

रंगेलीदेखि विराटनगरसम्म र रंगेलीपूर्व आमबाडीसम्म आउजाउ गर्नै ठूलो समस्या छ । आमबाडीदेखि पूर्व रतुवाखोलासम्मको खण्ड समेत पूर्ण रूपमा निर्माण भइसकेको छैन । सुक्खामा धुलो र पानी पर्दा सडकमा हुने हिलोका कारण पूर्व–दक्षिण क्षेत्रका बासिन्दालाई विराटनगर आउजाउ गर्न ठूलो समस्या हुने गरेको छ ।

हुलाकी सडकका विषयमा जनस्तरबाट भएका दबाबका कार्यक्रमलाई राज्यले वास्ता गरेको देखिँदैन । दबाब दिनेमा जनप्रतिनिधि पनि थपिएका छन् । हुलाकी सडक निर्माणका लागि दबाब दिन आठ सांसद र पाँच पालिकाका प्रमुखहरूले संघर्षको घोषणा गरेका हुन् । यसमा प्रतिनिधिसभाका दुई, कोसी प्रदेशसभाका ६ र पाँच पालिकाका प्रमुखहरू जोडिएका छन् ।

Argakhachi Cement Island Ad

Sansad Haru1683187733.jpg

बिहीबार बिहान विराटनगरमा सांसद तथा पालिकाका प्रमुखहरूले पत्रकार सम्मेलन गरी हुलाकी सडकको कार्य तत्काल पूरा गर्न आग्रह गरे । यो दबाबमूलक अभियानमा मोरङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, मोरङ–५ का प्रतिनिधिसभा सदस्य योगेन्द्रप्रसाद मण्डल र कोसी प्रदेशसभाका सांसदहरू गणेश उप्रेती, लीलावल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल र अमृत अर्याल सहभागी भएका छन् ।

यस्तै, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरीले निर्माणमा गति दिन आग्रह गरेका छन् ।

Press Bigyapti1683187756.jpg

सांसद पोखरेलले भने, “निकै लामो समयदेखि पर्खिएको सडक नबन्दा सर्वसाधारण त निराश नै भइसके । हामीले पनि बारम्बार सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएपछि अब संघर्ष नै अघि बढाउने गरी दबाब दिन सुरु गरेका हौँ ।”

प्रदेशसभा सदस्य पराजुलीले हुलाकी सडक निर्माण सकिँदा मोरङको विराटनगर सोझै झापाको भद्रपुरसम्म जोडिने बताए । “कुन ैपनि बहानामा हुलाकी सडकको काममा ढिलासुस्ती गर्न मिल्दैन,” उनले भने ।

अर्का सांसद उप्रेतीले हुलाकी सडकमा सधैँ हेलचेक्र्याइँ हुने गरेको आरोप लगाए ।

मोरङको रंगेलीपूर्व विराटनगरसम्म र त्यसपूर्वको खण्डमा सडक भत्काएर बनाउन सुरु गरिएको थियो । तर, निर्माणले गति नलिँदा धुलो र हिलाम्मे सडकका कारण स्थानीयलाई आउजाउमै समस्या भएको छ ।

चार जिल्लामा काम लथालिंग
हुलाकी राजमार्गअन्तर्गत पूर्वी खण्डको सप्तरी, सुनसरी, मोरङ र झापाका सदरमुकामहरू राजविराज, विराटनगर र भद्रपुर जोड्ने छोटो दूरीको मार्ग  निर्माण सुरु भएको १५ वर्ष पुगिसकेको छ । निर्माणमा हालसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, धेरै खण्डहरू अहिले पनि अलपत्र छन् ।

तराईको ‘लाइफ लाइन’ मानिएको सडक निर्माण कार्य ०६२/६३ मा सुरु गरिएको थियो । सडकखण्डअन्तर्गत सानाठूला गरी २५ पुल निर्माण हुनुपर्नेछ । हालसम्म पाँच पुल निर्माण कार्य पूरा भएको छ । पुलसहित यसको कुल अनुमानित लागत १५ अर्ब १८ करोड ९८ लाख रुपैयाँ छ ।

चार जिल्ला जोड्नेमध्ये झापाखण्डको सडक ४८ किलोमिटर लामो छ । त्यसमध्ये ४६ किलोमिटर कालोपत्र भएको छ । ६ पुल बन्न बाँकी छ ।

Hulaki Sadak 21683187823.jpeg

हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका अनुसार मोरङखण्डको कुल ४४ मध्ये सात किलोमिटर सडक मात्र कालोपत्र भएको छ । पुराना कल्भर्ट हटाएर नयाँ निर्माण र दुई लेन फराकिलो पार्ने कार्य बाँकी छ । कार्यालका अनुसार ठेकदार कम्पनीले कामलाई गति दिन सकेको छैन ।

सुनसरीमा ३० मध्ये २६ किलोमिटर सडक कालोपत्र भएको छ । सप्तरीमा ३२ मध्ये २६ किलोमिटर सडक कालोपत्र भएको छ । १९ पुल निर्माण गर्नुपर्नेछ । मोरङ, सुनसरी र सप्तरीका १५४ किलोमिटर सडकखण्डका अधिकांश भागमा सवारीसाधन चल्न सक्ने अवस्था छैन ।

हुलाकी मार्गको इतिहास
पूर्व–पश्चिम राजमार्गको समानान्तर रूपमा २० देखि ३० किमि दक्षिणतर्फ हुलाकी सडक निर्माणाधीन छ । राणाकलामा चिट्ठीपत्र ओसारपसार गर्न यो मार्ग प्रयोग गरिन्थ्यो । तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले सडक रेखांकन गर्न लगाएको मानिन्छ ।

भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले ०४७ सालमा नेपाल भ्रमण गरेका बेला भारतले नै हुलाकी राजमार्ग बनाइदिने घोषणा गरिएको थियो । दुई देशबीच ०६१ सालमा निर्माणसम्बन्धी सम्झौता गरियो । लोकतान्त्रिक आन्दोलन २०६२/०६३ लगत्तै नेपाल–भारतबीच एक हजार ४४० किमि सडक निर्माणबारे समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । तर, भारतीय ठेकदारले काम अलपत्र बनाई हिँडेपछि नेपालले आफैँ सडक निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्