site stats
बाह्रखरी :: Baahrakhari
देश
फिक्सिङमा ‘नो बल’ फालेका थिए अलराउन्डर अन्सारीले, जोडिएका थिए जतिन अलुवालियासँग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा सहभागी भएको आरोपमा युवा अलराउन्डर महोम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।

प्रतियोगिता चलेकै बेला अन्सारी शंकाको घेरामा परेका थिए ।

अन्सारीले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका छन् । उनले नेपालका लागि छ एक दिवसीय अन्तराृष्ट्रिय र आठ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।

उनलाई उदयीमान ‘फिनिसर’का रुपमा हेरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्सारीसहित पूर्व स्टार क्रिकेटर मेहबुुब आलमलाई पनि पक्राउ गरेको छ ।

सीआईबीले अनुुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ भने केही दिनमै मुद्दा बुझाउने तयारी गरेको छ ।  बाह्रखरीलाई प्राप्त जानकारी अनुसार नेपाली खेलाडीसहित पाँचदेखि सात जनालाई प्रतिवादी बनाउने तयारी छ । 

मेहबुबले बाहिर बसेर ‘स्पट फिक्सिङ’को प्रस्ताव गरेको खुलेको छ भने अन्सारीले ‘स्पट फिक्सिङ’ गरेको प्रमाण फेला परेको एक उच्च अधिकारीले बताए ।

उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा ‘स्पट फिक्सिङ’को योजनाअनुसार ‘नो बल’ फालेका थिए । उनले रकमको बार्गेनिङसमेत गरेको प्रहरी अनुसन्धानमा खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

यसबाहेक अन्सारी ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो ।  जतिन अलुवालिया क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट कम्पनीका मालिक हुन् । 

उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए । उनलाई ‘स्पट फिक्सिङ’मा सहमत भएवापत रकम प्रस्तावसमेत गरिएको खुलेको छ ।

सीआईबीका एक उच्च अधिकारीका अनुसार जतिन अलुवालियासँग अन्सारीको सम्पर्क देखिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो ।

जतिन कुनै टोलीका मालिक वा प्रशिक्षक नभएको अवस्थामा अन्सारीको सम्बन्धले प्रहरीलाई अनुसन्धानमा बल पुगेको थियो ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । 

त्यसपछि सीआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका थिए । 

सीआईबीका अधिकारीहरूका अनुसार बढीमा १० लाखसम्मको प्रस्ताव ‘स्पट फिक्सिङ’ भएको देखिएको छ । गत पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्