site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
देउवाविरुद्ध उमेदवारी दिएका सागर ढकाललाई प्रश्न– स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्न सम्भव छ ?

०७४ सालको निर्वाचन सम्मुखमा थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै गुल्मीका सागर ढकालले प्रश्न गरे । उक्त प्रश्नको भद्र जवाफको अपेक्षा गरेका ढकालले प्रधानमन्त्री देउवाको हप्की पाए । उनै ढकाल अहिले प्रधानमन्त्री देउवाविरुद्ध चुनावी मैदानमा छन् । 

०४८ सालदेखि देउवालाई निरन्तर जिताएका डडेलधुरावासीले यसपटक आफूलाई जिताउने दाबी ढकालको छ । 

देउवालाई आराम दिन डडेलधुरा आएको बताउने उनी भन्छन्, ‘म सांसद बन्न मात्रै होइन प्रधानमन्त्री बन्नका लागि डडेल्धुरामा चुनावी मैदानमा उत्रिएको हुँ ।’ 

Argakhachi Cement Island Ad

डडेलधुराका सबै गाउँ पुग्न नसक्ने भए पछि उनी अहिले माइकिङ गरेर ग्रामीण क्षेत्रमा प्रचारप्रसारमा व्यस्त छन् । चुनाव जितेर प्रधानमन्त्री बन्ने सपना बोकेका ढकालसँग बाह्रखरीकर्मी नवराज पनेरुले गरेको कुराकानी । 

० ० ०
देशभरका १६५ निर्वाचन क्षेत्रमा डडेलधुरा नै किन रोजाइमा पर्‍यो ?

दुई करोड युवा सुतेका छन्, उनीहरूलाई जगाउनका लागि । मलाई सांसद पदका लागि मात्रै लड्नु पर्ने कुनै कारण छैन । 

देशभरी एउटा सन्देश दिनुपर्छ र पूरै देशलाई योगदान गर्नुपर्छ भनेर चुनाव लड्न डडेलधुरा रोजेको हुँ । अरुलाई अन्नपूर्ण र माछापुच्छ«े चढ्नु भन्नुभन्दा अगाडि आफूले सगरमाथा चढेर देखाउनु पर्छ । आफू आफ्नै क्षेत्रमा चुनाव लड्ने तर अरुलाई अरुका क्षेत्रमा गएर चुनाव लड्नुपर्छ भनेर भन्न मिल्दैन । त्यही सोचेर म डडेलधुरा आएर उमेदवार भएको हुँ । 

 

धेरैले त डडेलधुराभन्दा गुल्मीमै चुनाव लडेको भए ठिक हुने थियो, भन्छन् त ? 

गुल्मी, बुटवल अथवा काठमाडौंमा चुनाव लड्दा मलाई यहाँभन्दा सहज पनि हुने थियो ।  ती क्षेत्रमा मेरो राम्रो पनि थियो । तर, गुल्मीमा सबै चुनाव लडिरहेकै छन् । 

म सांसद बन्नका लागि मात्रै आएको होइन । त्यो मलाई रहर पनि छैन । मैले त प्रधानमन्त्री भएर देशका लागि काम गर्नुछ । 

एउटा स्वतन्त्र उमेदवार डडेलधुराबाट विजयी हुनु र प्रधानमन्त्री बन्नु कत्तिको सम्भव छ ? 

यहाँ म मात्रै छैन । एउटा, राष्ट्रिय स्वतन्त्र पार्टी छ । लौरो अभियानको पार्टी छ ।  लौरो अभियानबाटै ६५ वटा क्षेत्रमा उमेदवारी छ । सबै राम्रा उमेदवार हुनुहुन्छ । 

अहिले पनि शेरबहादुर देउवालाई हेर्नुभयो भने कहाँ पार्टी सिस्टमबाट प्रधानमन्त्री हुनुभएको हो र ? संविधानको धारा ५ मा गएर प्रधानमन्त्री हुनुभएको हो । 

सबैको हस्ताक्षर लगेर राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्री बन्नुभएको हो । त्यसैले सम्भावना नै नभएको त होइन । मैले असम्भव कुरा गरेको छैन । तर, किठन भने पक्कै छ । 
 
डडेलधुरा र अन्य जिल्लामा के भिन्नता पाउनुभयो ? 

डडेलधुरामा भ्रष्टाचार धेरै छ । पूर्वाधार विकास भएको छैन । बजेट नभएर विकास नभएको होइन भ्रष्टाचार व्याप्त हुँदा काम नभएको हो । 

यहाँ पुल बनाउँछन् । तर, त्यो एक वर्ष पनि टिक्दैन । विद्युत् नपुगको ठाउँ र टेलिकमको पहँुचभन्दा बाहिर रहेको क्षेत्र थुप्रै छन् । त्यसैले, अरु जिल्लाभन्दा डडेलधुरा पछाडि नै छ । 

०४८ सालदेखि डडेलधुराले शेरबहादुर देउवालाई लगातार जिताएको छ । तपाइँको उमेदवारीलाई लिएर डडेलधुरावासीको प्रतिक्रिया के छ ? 

तपाइँहरु आफैँ सर्भे गर्दा हुन्छ । ९५ प्रतिशत डडेलधुराका जनता प्रधानमन्त्रीज्यूसँग एकदमै विरक्तिएका छन् । 

जहाँसुकै गए पनि हुन्छ । कांग्रेसको कोर कार्यकर्ताले मात्रै गुनगान गाइरहेको हुन्छन् ।  अरु सबै विरक्तिएका छन् । म मेरो उमेदवारीलाई लिएर जनता एकदमै उत्साहित छन् भन्दिनँ । तर, अब जाग्नुपर्छ भनेर लागेका छन् । युवाले बुवाहरूलाई जागरुक बनाउँदै गएका छन् । 

अन्त्यमा, मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपका सयौं युवा डडेलधुरामा उतार्दै हुनुहुन्छ रे ! कताबाट परिचालित हो त्यो समूह ? 

यो स्वतन्त्र युवाको समूह हो । साथीहरू आउछु भन्दै हुनुहुन्थ्यो । मैले आउनुस् भनेको छु । यो कतैबाट पनि परिचालित छैन । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्