site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शिजालाई जुँगा पाल्न रहर : आलोचनाको मतलब छैन, जुँगाविना रहने कल्पनै गर्न सक्दिनँ

नयाँ दिल्ली । जुँगा पाल्ने रहर भएकी एकजना भारतीय महिला अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् । कसैले उनको तारिफ गरेका छन् त कसैले आलोचना । कतिले उनलाई ट्रोल बनाएर उडाइरहेका छन् । 

तर, ३५ वर्षीया शिजा भने ढुक्क देखिन्छिन् । उनलाई आफूबारे भइरहेका टिप्पणीसँग मतलब छैन । बरु चिटिक्क परेको जुँगासहितको तस्बिर राखेर ह्वाट्सएपमा उनले लेखेकी छन्, “मलाई जुँगा मनपर्छ ।"

फेसबुकमा जुँगासहितका उनका तस्बिर देखेपछि उनलाई अधिकांशले किन जुँगा पालेको भनेर सोध्ने गर्छन् । कतिले त व्यक्तिगत रूपमा भेट्न पनि खोज्छन् । 

तर, शिजा भने आफूलाई 'जुँगा मनपर्ने'बाहेक अरू केही कुरा थाहा नभएको बताउँछिन् । 

उनी भारतको दक्षिणी केरला राज्यको कान्नुर जिल्लामा बस्छिन् ।

अधिकांश महिलाकोजस्तै उनको ओठमाथि पनि धेरै वर्षदेखि मसिना रौँ थिए । नियमित रूपमा आँखीभौँ थ्रेडिङ गराउँदा उनले कहिले पनि माथिल्लो ओठमाथिको रौँ हटाउनेबारे सोचिनन् । करिब पाँच वर्ष अघि बाक्लिँदै गएको रौँले जुँगाको आकार लिन थाल्यो । उनलाई त्यसले दुखी बनाउनुको सट्टा झनै खुसी बनायो । उनले जुँगा पाल्ने नै निर्णय गरिन् ।

आफ्नो जुँगा मोहबारे उनी भन्छिन्, “अब म जुँगा नपालेर बस्ने कल्पना पनि गर्न सक्दिनँ । कोभिड महामारीका बेला त मैले जुँगा छोपिने भएपछि मास्क लगाइनँ । अरू के कुरा गर्नु ।"

उनलाई भेट्ने जति सबैले जुँगा सफा गर्न सल्लाह दिन्छन् । तर उनी भने कसैको पनि कुरा टेर्दिनन् । 

यसबारे उनी भन्छिन्, “जुँगा भएकै कारण नराम्री देखिन्छु जस्तो मलाई कहिल्यै लागेन । साथै मैले जुँगा पाल्नु हुन्न जस्तो महशुस पनि भएन ।"

गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा हरनाम कौर पूर्ण रूपमा दाह्री पाल्ने विश्वकै सबैभन्दा कम उमेरकी महिला बन्न सफल भएकी थिइन् । केरला भारतका सबैभन्दा प्रगतिशील राज्यमध्येमा एक गनिन्छ । तर अझैपनि त्यहाँ पुरुषप्रधान सामाजिक सोचाइ व्याप्त छ । त्यहाँ महिलाहरूलाई एक्लै बस्न र हिँडडुल गर्न अझै प्रोत्साहित गरिएको देखिन्न ।

बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्