site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘उचाइ’ मा अमिताभ बच्चनदेखि बोमन इरानीसम्मको डमी नेपाली कलाकारहरु को–कुन पात्रमा छन् ?

काठमाडौं । यतिबेला बलिउडका चर्चित अनुहारसहित निर्देशक सुरज बडजात्या नेपालमा छन् । उनीहरु बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालमा आएका हुन् । 

यो चलचित्रमा बलिउडका ‘महानायक’ अमिताभ बच्चन र दिग्गज कलाकारहरु अनुपम खेर, बोमन इरानी अनि अभिनेत्री परिणिती चोपडाजस्ता बलिउडका चर्चित अनुहारहरु मूख्य भूमिकामा छन् । 

निर्देशक बडजात्या अहिले यिनै स्टारकास्टसहितको टोलीको साथमा करिब एक महिनादेखि नेपालमा छन् । निर्देशक बडजात्या, अभिनेता अनुपम खेर, बोमन इरानी अभिनेत्री परिणिती चोपडा सहित २०० जनाको टिम नेपाल आएका हुन् । 

Argakhachi Cement Island Ad

यो बलिउड टिमसँग नेपाली टिम पनि जोडिएको छ । नेपाली कलाकारहरुमा अभिनेत्री परमिता आर एल राणा, डम्मर बोहोरा, उरुषा जोशी, सरोज लामिछाने, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुतmान, नारायण विश्वकर्मा, आयुषा सुवेदी, स्नेहा अधिकारी सरोज पर्जु, केश नन्दु सिंह (सिद्धार्थ) र आरोन गुरुङ छन् । उनीहरू पनि छायाङ्कनका लागि ६ तारिखमा नै टिमसँग जोडिइसकेका छन् ।

डमी (डुप्स) क्यारेक्टर 

यतिबेला यो टिम नेपालको मनाङमा छायाङ्कनमा छन् । बलिउड चलचित्रमा नेपाली कलाकार जोडिएको खबरले समग्र नेपाली कलाकार उत्साही देखिन्छन् । 

बलिउड चलचित्रमा नेपाली कलाकारहरु जोडिएको खबरले नेपाली मिडियामा राम्रै स्पेश पाएको थियो । 

बलिउडको यति ठुलो प्रोजेक्ट नेपालमा र नेपाली आर्टिस्टसँग सहकार्यको जिम्मा लिएको ‘थ्री ह्विलर्स फिल्मस् प्रालिका पुष्पराज न्यौपानेले केही नेपाली कलाकारहरु महत्वपूर्ण भूमिका र बाँकी राम्रो भूमिकामा भएको बताए ।

टिमसँग नजिक भएर काम गरिरहेका एक स्रोतका अनुसार महत्वपूर्ण भूमिकामा रहेका पाँचजना कलाकारहरु डमी (डुप्स) क्यारेक्टरमा छन् । 

जम्मा १६ जना कलाकारहरुमध्ये ४ जना शेर्पा, ५ जना डमी, बाल कलाकार र बाँकी भरियाको भूमिकामा छन् । 

बलिउडका मुख्य कलाकार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिता चोपडा अनि सारिका हसनका नेपाली डमी कलाकारहरु छन् । 

को–कसको डमी क्यारेकटर
सरोज लामिछाने– अनुपम खेर

थिएटर आर्टिस्ट अनि चित्रकार सरोज लामिछानेले बलिउडका दिग्गज अभिनेता अनुपम खेरको डमी पात्र निभाएका छन् । उनले यसैकै लागि आफुलाई त्यही अवतारमा ढालेका पनि छन् । यदि उनलाई र अनुपम खेरलाई झट्ट हेर्ने हो भने एकै जस्ता देखिन्छन् । 

सरोज आफैँले पनि सामाजिक सञ्जालमा छायाङ्कनको क्रममा लिएको अनुपमसँग उभिएको एउटा फोटो पोस्ट गरेका छन् । जसमा दुवैजना उस्तै देखिएका छन् । 

बलिउडको पहिलो चलचित्रमा नै यति ठूला अभिनेताको डुप्स पात्र भएर काम गर्न पाउँदा लामिछाने आफुलाई भाग्यमानी ठानिरहेका छन् । 

“सुरुमा मैले न्याय दिन सक्छु होला कि नाइ भनेर डर लागिरहेको थियो । तर छायाङ्कनको पहिलो केही दिनमा उहाँलाई नजिकबाट नियाल्ने मौका पाएकोले सजिलो भयो,” उनले अनुभव सुनाए । 

उनका अनुसार अनुपमकै अगाडि उसैको नक्कल गर्न केही अप्ठ्यारो मानिरहँदा अनुपमले सम्झाउँदै ‘तपाईंलाई जस्तो आउँछ त्यस्तै गर्नुहोस्, त्यो नेचुरल हुन्छ र राम्रो पनि देखिन्छ । मेरै डिटो कपि गर्न खोज्नु भन्दा त्यो राम्रो हुन्छ’ भनेका थिएरे । जसले आफुमा आत्मबल बढेको लामिछाने बताउँछन् । 

रमेश बज्राचार्य– बोमन इरानी 

बलिउडकै अर्का अभिनेता बोमन इरानी पनि नेपालको छायाङ्कन लोकेशनमा छन् । उनको डमी आर्टिस्टको रुपमा नेपाली थिएटर आर्टिस्ट रमेश बज्राचार्य छन् । अर्थात् बोमन इरानी बनेर चलचित्रका कति दृश्यमा रमेश बज्राचार्यले भूमिका निभाउँदै छन् । 

सर्वनाम थिएटरको १५ औं ब्याचका उनी बलिउड टिमसँग काम गर्न सोचेकोजस्तो गाह्रो नभएको अझ रमाइलो भैरहेको बताउँछन् । 

“बलिउडका यति ठूला निर्देशक अनि कलाकारहरुसँग काम गर्न कस्तो होला जस्तो लाग्थ्यो तर उहाँहरु एकदमै नम्र हुनुहुन्छ । राम्रोसँग सम्झाउनुहुन्छ, उहाँहरुको काम गर्ने तरिका पनि एकदमै राम्रो लाग्यो मलाई त,” बज्राचार्यले बताए । 

आफुहरु थिएटर आर्टिस्ट भएकाले पनि ब्लकिङलगायत धेरै प्राविधिक कुराहरु थाहा हुने भएकाले डमी क्यारेक्टरलाई राम्रोसँग निभाउन सक्नेमा उनी विश्वस्त छन् । 

डेभिड तेन्जिङ शेर्पा– अमिताभ बच्चन

बलिउडका बीग बी अमिताभ बच्चन उमेर र स्वास्थ्य सुरक्षाका कारण नेपाल छायाङ्कनमा आएका छैनन् । उनको डमी पात्रका लागि भारतबाटै एकजना कलाकार आएका छन् । तर नेपाली एकजना कलाकार पनि अमिताभको डमी पात्र छन् । 

अर्थात् अमिताभको डमी पात्र दुई कलाकारहरुले निभाउँदै छन् । रोचक कुरा, उमेर अनि अनुभवले पनि निखारिएका अमिताभको डमी आर्टिस्टमा १९ वर्षीय डेभिडले निभाउँदै छन् । 

कक्षा १२ को पढाई सकेर अभिनय यात्रामा भर्खरै पाइला चालेका उनले पहिलो अवसर नै यति ठूलो प्रोजेक्ट पाएका हुन् ।

“मलाई एकदमै खुसी लागेको छ । अमिताभ सरलाई म एकदमै सम्मान गर्छु । अझ उनकै डमी पात्र बन्न पाउँदा आफुलाई भाग्यमानी पनि ठान्छु,” उनी भन्छन् ।

त्यस्तै अभिनेत्री परिणिती चोपडाको डमी आर्टिस्टमा कलाकार उरुषा जोशी छन् । पाँचौ बलिउड कलाकार सारिका हसनको डमी आर्टिस्ट परमिता आर एल राणा छन् । 

त्यस्तै शेर्पाको चारजना पात्रको भूमिका निभाएका नेपाली कलाकारहरुमध्ये एक शिद सिंह हुन् । बलिउडमा पनि लामो समय संघर्ष गरिसके उनी यतिबेला ‘उचाइ’ चलचित्र मार्फत नेपाली कलाकारको रुपमा बलिउड चलचित्रमा जोडिएका छन् । 

उनका अनुसार नेपालमा भन्दा बलिउडको काम गर्ने शैली फरक छ । न्यौपानेका अनुसार नेपाली कलाकारहरुमध्ये कसैको संवाद छ भने कसैको मोन्टाज मात्रै छन् ।

चलचित्रको कथा 

चलचित्र ‘उचाइ’ मित्रता अनि यात्राको कथा हो । थ्रि ह्विल्सका न्यौपानेका अनुसार चलचित्रको कथा दुई मित्रहरुको साहसिक यात्रा हो । नेपाली मूलका अभिनेता ड्यानी डेन्जोङ्पा चलचित्रमा पनि नेपालमै जन्मिएका हुन्छन् । ठूलो भएपछि उनी भारतको दिल्लीमा बसाइ सरेर जान्छन् । जहाँ ड्यानीको भेट अभिनेता अनुपम खेर, बोमन इरानी, अमिताभ बच्चन, परिणितीसँग हुन्छ र उनीहरुबीच मित्रता हुन्छ । 

ड्यानीको आफ्ना भारतीय साथीहरुलाई सगरमाथालगायत नेपालको सुन्दर हिमाली भेगमा साहसिक यात्रामा ल्याउने इच्छाअनुरुप भारतीय टिमहरु नेपाल आउँछन् ।

बलिउड टिम ३ अक्टोबरमा नेपाल आइपुगेका हुन् । नेपालमा काठमाडौंको एयरपोर्ट अनि हायात होटलको दृश्य, नाम्चे, लुक्लामा छायाङ्कन सकेर यतिबेला मनाङमा छायाङ्कन भैरहेको छ । यो अक्टोबरसम्ममा छायाङ्कन सकाएर भारतीय टिम नोभेम्बरमा भारत फर्किदैछ । चलचित्रको रिलिज सन् २०२२ को अगस्ट तोकिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्