site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मण्डलाको अनामनगर भवनलाई बिदाइ गर्ने अन्तिम नाटक ‘जिजीविषा’

काठमाडौं । नयाँ भवनमा सर्ने तयारीमा रहेको मण्डला नाटकघरले अनामनगरस्थित भवनमा अन्तिम नाटकका रूपमा ‘जिजीविषा’ मञ्चन गरेको छ । अनामनगरमा बसेर दस वर्षदेखि नेपाली रंगमञ्चलाई जीवित बनाइराखेको मण्डला अबको दुई–तीन महिनामा बानेश्वरको थापागाँउमा सर्दैछ ।

अनामनगरको भवनका लागि मञ्चन भएको अन्तिम नाटक पनि बाँच्ने चाहना अनि बाँच्नका लागि तय गरिने यात्राको चित्रण हो ।

कथा प्रस्तुतिका लागि लेखक सोमनाथ खनाल र निर्देशक राजन खतिवडाले पानी र माछालाई प्रतिबिम्बमा रूपमा उभ्याएका छन् । नाटकमा जीवनको यात्रालाई आफ्नै धारमा बगिरहने पानी अनि उतारचढाव पार गरेर बाँच्नका लागि हरेक मानिसले तय गरिरहेको यात्रालाई माछाका रूपमा प्रस्तुत गरिएको छ । 

Argakhachi Cement Island Ad

“यो नाटकको आइडिया आउने बित्तिकै यो दार्शनिक कुरा हो र यसलाई साधारण रूपमा आफैँबाट (मानिसको रूपमा) भन्न सकिन्न जास्तो लाग्यो । त्यसैले मैले यो दार्शनिक कुरालाई केही फरक तरिकाले प्रस्तुत गर्ने उद्देश्यले स्टेअपहरू बुन्न थालेँ,” लेखक खनाल बताउँछन् ।

कथाको प्रस्तुतिका लागि उनले १० ओटा ‘स्टोरी सेटअप’ बनाएका थिए । जसमा रुख र चरा, गुम्बा र भिक्षु, जंगल र जनावर, संस्था र सदस्यहरू, घर र परिवार, पुस्तकालय र पुस्तक अनि माछा र पानी समावेश थिए । तर, निर्देशक राजन खतिवडासँगको छलफलपछि उनले प्रतिबिम्बका रूपमा पानी र माछालाई राजेका हुन् । 

पानी र माछा छान्नुको कारणबारे खतिवडा भन्छन्, “मान्छे र माछालाई चाहिने केही समानान्तर कुराहरू छन्, जस्तै पानी । हामीले कोभिडको समय र पोस्ट कोभिडको समय जुन अहिले खेपिरहेका कुरालाई यो माध्यमबाट भन्न सकिन्छ भनेर माछालाई रोजेका हौँ ।” 

उनी अगाडि थप्छन्, “कोरोना महामारीले हामी सबैको बाँच्ने चाहना अझै बढाइदिएको छ । यतिमात्रै होइन हामी के का लागि बाँचिरहेका छौँ भन्ने कुराको बोध गराएको छ । कतिजना डिप्रेसनमा गए, कतिजनाले आत्महत्या गरे, कति जनाको रोजगारी गुम्यो, कतिले खान पाएनन् ।”

तर, यस्तो कठिन समयकाबीच पनि अधिकांशको जीवन निरन्तर अघि बढिरह्यो । अनि खनाल खोज्न थाले, जीवन जिउनुको अर्थ । आफूले आफ्नो वरपर देखेका अनुभवलाई नाटक ‘जिजीविषा’मार्फत प्रस्तुत गर्न खोजेका खनाल बताउँछन् । 

जीवित रहने ऊर्जा बोकेको यो नाटकले सम्पूर्ण मण्डला टिमलाई नै एउटा ऊर्जा दिने महसुस निर्देशक खतिवडाले गरेका छन् । एक दशक बिताएको आफ्नो कर्मथलोलाई छोडेर मात्रै होइन मण्डला टिम आफैँले भत्काएर जानुछ । यो पिडाकाबीच पनि नयाँ ठाउँ अनि भवनमा गएर फेरि नयाँ जोशका साथ अघि बढ्ने उत्साह पनि मिलिरहेको उनी बताउँछन् । 
००० ०००
हिमालको फेदमा भएको सानो तलाउका माछाहरू प्राकृतिक विपद्का कारण आफ्नो ज्यान बचाउन विशाल अनि गहिरो समुन्द्रको यात्रा र यात्रामा संघर्ष, चुनौती, कमजोरी अनि अहमहरू तय गरेर समुन्द्रसम्म पुगिसकेर फेरि त्यही सानो तलाउमा फर्कने यात्रालाई नाटकमा रोचक तरिकाले उतारिएको छ।

माछाहरू पुनः आफ्नो जन्मथलो सानो तलाउमा पुग्ने निर्णयलाई मानिसहरू जता गएपनि अन्तिममा आफ्नो पूर्खा अनि जन्मथलो नै खोज्ने र आफ्नो परिचय नै खोज्ने पाटोलाई नाटकमा देखाउन खोजिएको छ ।

 
नाटकमा माछाको भूमिका ‘मण्डला ड्रामा स्कुल’ का पहिलो शैक्षिक सत्रका विद्यार्थीहरू हुन् । सातै ओटा प्रदेशबाट आएका जम्मा १६ जना परिक्षार्थीहरूको पहिलो नाटक भएपनि अभिनयमा त्यति खोट लगाउने ठाँउ देखिँदैन । 

उनीहरू सन् २०२० मा करिब डेढ वर्ष मण्डलामै बसेर यो कोर्स पूरा गरेका हुन् । सामाजिक रूपान्तरणका लागि मण्डला ड्रामा स्कुल नाम दिइएको यस कार्यक्रमको पहिलो सत्रअन्तर्गत नेपालको सातवटै प्रदेशबाट छानिएका १६ जना प्रशिक्षार्थीलाई पूर्ण छात्रवृत्तिसहितको आवासीय तालिम दिइएको हो ।

नेपथ्यमा समय–समयमा बजेका संगीत, मञ्चमा प्रयोग भएका कृत्रिम प्रकाश अनि कलाकारले प्रयोग गरेका पहिरनहरूले नाटकमा अझै सुन्दरता थपिएको छ । 

विप्लव प्रतीकको गीत/संवाद सम्पादनले अभिनयमार्फत प्रस्तुत गर्न नसकिएका कुराहरूलाई अझै बलियो अनि सुन्दर रूपमा प्रस्तुत गरिएका छ ।

मञ्चमा अकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोखरेल, सुस्मिता गुरागाईँ, बिष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ्ग ओ हाङ्ग राई, दिक्षा चौधरी, प्रदीप ढुङ्गाना अनि निरज चौधरी छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्