site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना संक्रमितमा बढ्दै ‘पोस्ट कोभिड कम्प्लिकेसन’
फाइल तस्बिर ।

काठमाडौं । ‘पोस्ट कोभिड कम्प्लिकेसन’ अर्थात् कोभिड–१९ संक्रमणपछि देखिने दीर्घकालीन स्वास्थ्य समस्या यतिखेर विश्वभर नै बढ्दै गएको छ । कोभिड संक्रमण निको भइसकेपछि पनि त्यसको असर धेरै मानिसमा लामो समयसम्म देखिइरहने तथा संक्रमितमा दीर्घकालीन रोग देखिने गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।

कोभिड श्वासप्रश्वासम्बन्धी संक्रमण भएकाले यसले विशेषगरी फोक्सो र रक्तसञ्चारमा दीर्घकालीन असर निम्त्याएको पाइएको छ । भारत र नेपालमा अहिले ब्ल्याक फंगस (म्युकरमाइकोसिस) पोस्ट कोभिड कम्प्लिकेसनमध्येको सबैभन्दा घातक समस्याको रुपमा देखिएको छ ।

कोभिडको गम्भीर संक्रमणपछि विश्वमा देखिएका समस्या
पोस्ट कोभिड कम्प्लिकेसन देखिनेमा अधिकांश सघन उपचारकक्षमा उपचार गराएका तथा लामो समयसम्म अक्सिजनको सहायतामा रहेका संक्रमितहरु छन् । अमेरिकाको सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले चार हप्ताभन्दा बढी समय संक्रमण देखिएका लक्षण भएका वा नभएका दुवै संक्रमितमा पोस्ट कोभिड कम्प्लिकेसन देखिन सक्ने जनाएको छ ।

Argakhachi Cement Island Ad

सीडीसीले गम्भीर प्रकारको कोभिड संक्रमणपछि मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआइएस)मा असर पर्न जाने जनाएको छ । एमआइएसअन्तर्गत यसमा फोक्सो, मिर्गाैला, मुटुमा असर पर्ने तथा शरीरले आफैँ विकास गर्ने रोग प्रतिरोधी क्षमतामा ह्रास आउनेजस्ता समस्या उल्लेख गरिएको छ ।

यस्तै, अमेरिकाकाले इन्स्टिच्युट अफ हेल्थले गएको जनवरीमा कोभिडपछि देखिएको स्वास्थ्य समस्याबारे गरेको एक अध्ययनले विशेषगरी १० वटा समस्यालाई पोस्ट कोभिड कम्प्लिकेसनको रुपमा सूचीकृत गरेको छ । जसमा फोक्सो र मस्तिष्कमा हुने दीर्घकालीन असरलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, अध्ययनले यी समस्याहरुलाई पोस्ट कोभिड कम्प्लिकेसनको रुपमा उल्लेख गरेको छ–
मस्तिष्काघात
स्नायु प्रणालीसम्बन्धी समस्या 
मुटुसम्बन्धी समस्या
रक्तसञ्चारसम्बन्धी समस्या 
मिर्गौलासम्बन्धी समस्या
मनोवैज्ञानिक समस्याहरु ।


कोभिडको दोस्रो लहरको उच्च संक्रमणपछि भारतले अहिले भोगिरहेको दोस्रो महामारी हो, ब्ल्याक फंगस । नयाँ दिल्ली, गुजारात, राजस्थानलगायत सहरमा ब्ल्याक फंगस (म्युकरमाइकोसिस)को संक्रमण धेरै नागरिकमा फैलिएपछि भारतमा यसलाई महामारीकै रुपमा घोषणा गरिएको छ । यसबाहेक पछिल्लो समय भारतमा बालबालिकामा पोस्ट कोभिड कम्प्लिकेसनको समस्या बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोमको समस्या देखिएको जनाइएको छ ।

भारतका अधिकांश अस्पतालहरुमा १५ देखि २० प्रतिशत कोभिड संक्रमितलाई पोस्ट कोभिड कम्प्लिकेसन देखिएको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । अपोलो अस्पतालको पोस्ट कोभिड ओपीडीमा आउनेमा संक्रमणमुक्त भएको १४ दिनपछिसम्म पनि उच्च ज्वरो आउने, कमजोरी हुनेजस्ता समस्या देखिएका थिए । यी घटनाले कुनै न कुनै रुपमा कोभिडका गम्भीर संक्रमितमा दीर्घकालीन स्वास्थ्य समस्या बढ्दै गएको देखाउँछ ।

नेपालमा पनि पोस्ट कोभिड कम्प्लिकेसन बढ्दो
नेपालमा पोस्ट कोभिड कम्प्लिकेसनको रुपमा अहिले म्युकरमाइकोसिसको समस्या बढ्दै गएको छ । हालसम्म म्युकरमाइकोसिसका १० जना संक्रमित पहिचान भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । विभिन्न अस्पतालहरुमा गरी तीनजनाको मृत्यु भइसकेको छ ।

नेपालमा देखिएका कोभिड संक्रमितमा फोक्सोसम्बन्धी समस्या, मनोवैज्ञानिक समस्याहरु र मधुमेहका बिरामीमा विशेष समस्याहरु देखिन थालेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । नेपालमा अहिले कोभिड संक्रमण भएका मधुमेहका बिरामी धेरैमा पोस्ट कोभिड कम्प्लिकेसन देखिएको छ । उनीहरुमा स्टेरोइडको प्रयोगले सुगरको मात्रा बढेको र यसले रोग प्रतिरोधी क्षमता कमजोर बनाई विभिन्न अंगमा असर देखिएको डा. बम बताउँछन् ।

“कोभिड संक्रमितको उपचारका क्रममा बाध्य भएर स्टेरोइड औषधि चलाइयो, यसले मधुमेहका बिरामीलाई थप जटिलता निम्त्याएको छ । आँखाको दृष्टि गुमाउँदै गएका, सुगरको मात्रा धेरै बढेर विभिन्न समस्या लिएर फलोअपमा बिरामीहरु आउँछन्,” उनले भने

डा. बम थप्छन्, “परिवारका सदस्य गुमाएका कतिपय संक्रमितमा मनोवैज्ञानिक असर परेको देखिन्छ । यसले गर्दा उनीहरुमा लामो समयसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।”

कोभिड संक्रमणले फोक्सोमा कसरी असर निम्त्याउँछ  ?
श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्याले फोक्सोमा प्रत्यक्ष असर गर्छ । लक्षणसहितका अधिकांश कोभिड संक्रमितको फोक्सोमा लामो समयसम्म पनि दाग रहिरहने डा. बमको भनाइ छ ।

यसरी फोक्सोमा रहिरहने दाग अर्थात् संक्रमणको अंशका कारण उनीहरुमा पटक–पटक निमोनिया हुन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैगरी, १० देखि १५ लिटरभन्दा हाई फ्लो अक्सिजन दिएर बचाइएका संक्रमितहरुलाई संक्रमणमुक्त भइसकेपछि पनि अक्सिजनको सहायतामा राख्नुपर्ने हुन सक्ने डा. बम बताउँछन् ।

यसरी एकपटक भएको लक्षणसहितको संक्रमणले फोक्सोलाई कमजोर बनाउने भएकाले संक्रमितमा दोहोर्‍याएर छातीसम्बन्धी समस्याहरु देखिन सक्छन् । नेपालमा कोभिड संक्रमितहरुमा यस्ता समस्या बढ्न थालेपछि विभिन्न अस्पतालहरुले निःशुल्क पोस्ट कोभिड कम्प्लिकेसन ओपीडी सेवा पनि सुरु गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्