site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तरकारी पसलमासमेत सुरु भएको विद्युतीय कारोबार सुन व्यवसायीले किन गर्दैनन् ?

काठमाडौं । नेपालसहित विश्वभर नै विद्युतीय कारोबार निकै फस्टाएको छ । 

कोभिड–१९ पछि यो झनै फस्टाएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारका लागि जोड दिइरहेको छ ।

पछिल्लो समय नेपालमा ठेलागाडा, चिया पसलदेखि मन्दिरमा भेटी चढाउनसमेत विद्युतीय कारोबार हुन थालेको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैँ विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न चिया पसलदेखि ठेलागाडासम्म धाइरहेका छन् । 

अर्थात् उनले विद्युतीय कारोबारलाई निकै महत्व दिइरहेका छन् ।

विद्युतीय कारोबार सरल र सुरक्षित भएकाले नै होला दिन प्रतिदिन यसप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । 

सबैको आकर्षण विद्युतीय कारोबारमा भए पनि दिनमा लाखौंको कारोबार गर्ने सुनचाँदी व्यवसायी अझै पनि विद्युतीय कारोबारमा आकर्षित हुन सकेका छैनन् । काठमाडौंकै न्यूरोड, विशालबजारमा क्षेत्रमा रहेका सुनचाँदी पसलमा अझै पनि नगदमा कारोबार भइरहेको छ ।

विशाल बजारमा रहेको अर्नामेन्ट इम्पेरियमका कर्मचारी रामकृष्ण श्रेष्ठ आफ्नो पसलमा विद्युतीय भुक्तानीको सिस्टम नभएको बताउँछन् । 

“हाम्रो पसलमा विद्युतीय कारोबारको सिस्टम छैन, त्यसैले नगद मात्रै कारोबार हुन्छ,” उनले भने । 

पहिले विद्युतीय कारोबार सुरु गरेर पछि हटाएको उनको दाबी छ । 

सोही पसलका अर्का कर्मचारीले भने “कारोबार गर्ने आ–आफ्नो ढंग हुन्छ, त्यसैले हामीले विद्युतीय कारोबार गरेका छैनौं ।

विद्युतीय कारोबार गर्नैपर्ने बाध्यता आयो भने हामी सोच्न सक्छौं, होइन भने हाम्रो अहिले यसमा इन्ट्रेस्ट छैन । साहुजीले त्यही भन्नुभएको छ ।”

यस्तै, न्यूरोडको लक्ष्मी सुनचाँदी पसलका सञ्चालकले पनि आफूहरूले सुनचाँदी खरिद–बिक्री गर्दा नगदै कारोबार गरिरहेको बताए । “हाम्रोमा कार्ड (डेबिट–क्रेडिट) बाट भुक्तानी गर्न मिल्दैन, नगदै दिनुपर्छ,” उनले भने । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय भुक्तानीका लागि तोकिएको सीमा सुनचाँदी खरिदका लागि कम भएकाले व्यवसायी विद्युतीय कारोबारमा आकर्षित नभएको बताए । 

तर, ग्राहकको सहुलियतका लागि भए पनि व्यवसायीले डिजिटल कारोबारलाई जोड दिनुपर्ने उनी बताउँछन् । 

“सुनचाँदी खरिदका लागि २ लाख रुपैयाँको सीमा कम भयो । हामीले सुनचाँदी कारोबारका लागि डिजिटल भुक्तानीको सीमा बढाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छौं,” उनले भने । 

नेपाल राष्ट्र बैंककाअनुसार कार्डको माध्यमबाट गरिने नगद तथा भुक्तानी कारोबारको सीमा डेबिट कार्डका लागि प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना चार लाख रुपैयाँ छ । 

यस्तै मोबाइल बैंकिङ्गका लागि प्रतिदिन दुई लाख, इन्टरनेट बैंकिङ्ग (मर्चेन्ट पेमेन्ट) का लागि प्रतिदिन २० लाख र इन्टरनेट बैंकिङ्ग (अकाउन्ट ट्रान्सफर) का लागि पनि २० लाख सीमा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ठूलो रकमको कारोबार पनि विद्युतीय कारोबारबाट होस् भन्ने चाहना राष्ट्र बैंकको रहेको बताउँछन् । 

“अहिले पहिलेको भन्दा विद्युतीय कारोबारबाट हुने रकम र कारोबार संख्याको आधारमा पनि विद्युतीय कारोबार बढेको प्रमाणित भएको छ,” उनले भने, “भोलिका दिनमा कुनै क्षेत्रमा विद्युतीय कारोबार नहुने वातावरण देखियो भने त्यसमा राष्ट्र बैंकले सोच्दै जान्छ ।”

राष्ट्र बैंकले समग्र क्षेत्रको कारोबार नै विद्युतीय भुक्तानीबाट गराउने उद्देश्यअनुसार काम गरिरहेको उनको भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ११:१०
प्रतिक्रिया दिनुहोस्