site stats
बाह्रखरी :: Baahrakhari
विचार
 दमौलीको मनोविज्ञान 

राजनीतिमा कहिलेकाहीँ कल्पनै नगरेको घटना हुनपुग्छ । गत साता तनहुँको दमौलीमा यस्तैै ‘अप्रत्याशित’ घटना भयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै तनहुँका कांगे्रसजनले सत्तारुढ दलको भातृ संगठनले विरोध गर्दैमा प्रशासनले त्यति निर्लज्ज स्तरमा ओर्लेर बल प्रयोग गर्छ भन्ने सायद सोचेका पनि थिएनन् । अर्कातिर, निषेधाज्ञा नै जारी गरेर प्रहरी तैनाथ गरेपछि कांग्रेसहरू हच्किहाल्छन् भन्ने प्रहरी प्रशासनले सोचेको हुनुपर्छ । तर, दुवै पक्षले नसोचेको घटना भयो । 

कार्यकर्ता साथमा लिएर रामचन्द्र पौडेल बुल्दीमा बनेको पुल उद्घाटन गर्न गए । कुनै पनि हालतमा पुल उद्घाटन हुन नदिने ‘आदेश’ पाएका प्रहरीले के गर्ने ? उनीहरूले जानेको र सकेको बल बुद्धि लगाएर उद्घाटन रोके । पौडेललाई नै पक्रेर राखिदिएपछि उद्घाटन कसरी हुने ? सायद, सत्तारुढ दलको स्थानीय नेतामातहत राखिएजस्ता प्रशासकहरू र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्लास्तरका नेता कार्यकर्ताले बुधवार साँझ विजयोत्सवै मनाए होलान् । तर, आलाकाँचा प्रशासक र नेकपाका नेताहरूले उनीहरूभन्दा धेरै जेठो दमौलीको मन छाम्न सकेनन् । दमौलीका कांग्रेसले भने प्रशासन र सत्ताधारीहरूका यस्ता अवरोध तथा चुनौती धेरै भोगेकाले आत्तिएनन् । भोलिपल्ट उद्घाटन गरेरै देखाउने तयारीमा लागे । सम्भवतः जिल्लाभरका कार्यकर्ता बिहीवार दमौली ओइरिए । उर्बौलो हर्कतका लागि खप्की खाएर प्रशासन हच्किएको हुनुपर्छ । कांग्रेसहरूको रौद्ररूप देखेका नेकपाका कार्यकर्ता डराए होलान् । मुठभेडविनै पुलको उद्घाटन गरे रामचन्द्र पौडेलले । 

रामचन्द्र पौडेलले अप्रत्याशितरूपमा चुनाव हार्दाभन्दा भन्दा पनि उनलाई पुल उद्घाटन गर्न प्रशासनको आडमा गरिएको अवरोधले तनहुँका कांग्रेसजन बढी उद्वेलित भएको देखियो । त्यही आक्रोश देशभर सञ्चारित भयो र कांग्रेसजनमा सत्ताको ज्यादतीको जुधेर सामना गर्ने मनःस्थिति बन्यो । भोलिपल्ट दमौलीमा जम्मा भएका कांग्रेस कार्यकर्तालाई साथमा लिएर पौडेलले पुल उद्घाटन गरिछाड्दा त्यसले तरङ्ग पैदा गरेको हो । 

Argakhachi Cement Island Ad

त्यसपछि शुकवार नेकपा, तनहुँले पत्रकार सम्मेलन गरेआफ्नो अगिल्लो दिनको बलमिच्याइँको औचित्य पुष्टि गर्न खोज्यो । विशेषगरी स्थानीय नेताको लहैलहैमा दमौलीमा निषेधाज्ञा जारी गर्ने र प्रहरीलाई बल प्रयोग गर्न आदेश दिने प्रमुख जिल्ला अधिकारीलाई जोगाउने प्रयास पत्रकार सम्मेलनमा गरिएको देखियो । उनीहरूले रामचन्द्र पौडेलले ‘विधि र प्रक्रिया मिचेर पुल उद्घाटन’ गर्न खोजेकाले रोक्न लगाइएको भनेर स्पष्टीकरण दिए । विवाद राजनीतिक थियो । प्रशासनका आडमा राजनीति गर्न खोज्दा यस घटनामा नेकपा र तनहुँका प्रजिअ नराम्ररी चिप्लिए । 

सामाजिक सञ्जालमा उत्तिखेरै व्यापक भएको प्रहरी दमनको दृश्यले रामचन्द्र पौडेलप्रति समर्थन र सहानुभूतिको बाढी नै आयो । नेकपाकै केही नेताले समेत ‘नहुनुपर्ने भयो’ भने । यस्तो अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दमौली घटनामा सरकारविरुद्ध उर्लिएको जनआक्रोशलाई देख्दा पार्टीका पक्षमा तर वास्तवमा उनको आफ्नै हितमा प्रयोग गर्ने मौका नछोप्ने कुरै भएन । हतार हतार नेपाली कांग्रेसको अनौपचारिक बैठक राखेर देउवाले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गराए । विरोध प्रदर्शनको कारणमा अरू विषय पनि थपिएको त छ तर पौडेलमाथिको अभद्र व्यवहार नै त्यसको बीउ र ऊर्जा हो । नत्र, सरकारको ‘अलोकतान्त्रिक कदम, भ्रष्टाचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा’ गैरजिम्मेवारी देखाएको त उहिल्यैदेखि हो । जेहोस्, नेपाली कांग्रेसले देशव्यापी विरोध गर्ने कार्यक्रम तय गरेको छ । 

नेकपाका स्थानीय नेता कार्यकर्ताले दमौलीको मानसिकता चिन्न नसक्ता पुल उद्घाटनजस्तो सामान्य घटना पनि सरकारका विरोध देशभर आक्रोश फैलाउने काण्ड बन्न पुग्यो । दमौलीको मन छाम्न बन्दीपुरबाट सदरमुकाम सार्दाका दिनहरू सम्झनुपर्छ । बन्दीपुरबाट तनहुँको सदरमुकाम सार्ने अभियानमा संलग्न हस्तीहरूमध्ये अधिकांश कांग्रेस समर्थक पञ्च र शिक्षक थिए । सदरमुकाम सारेपछि कर्मचारीको बसोवासदेखि सरकारी अड्डाका लागि घर बनाउने कामसम्ममा उनीहरू नै अगाडि सरे । बाँझो चौरमा नगर बसाउन गर्नुपर्ने दुःख उनीहरूले नै गरेका हुन् । हिउँदमा मात्र भट्टी थाप्न आउने थकालीहरूलाई दमौलीको औले गर्मीमा बर्सैभरि बस्न उनीहरूले नै राजी गराएका थिए । यसैले दमौलीका कांग्रेसजनहरू आफ्नै घरमा हार्न तयार हुँदैनन् । 

कांग्रेसको गढ मानिएको दमौलीमा आक्रमण त पञ्च र कम्युनिस्टहरूले पनि गरे । विशेषगरी पञ्चहरूले प्रशासनिक शक्ति प्रयोग गरेर तर, कांग्रेसहरू दमौलीमा हारेनन् । यही क्रममा दमौलीमा कांग्रेसविरुद्ध संगठन बनाउन प्रशासनको संरक्षणमा क्लब बनाएर कुटपिट र हुलदंगा मच्चाउने पनि गरियो । तर, कांग्रेसहरूले हारेको देखाएनन् । सबैभन्दा मुख्य कुरा त प्रशासनसँग डराएनन् । कांग्रेसहरू दमौलीमा हार्नै मान्दैनन् ।

नेपाली कांग्रेस जति नै कमजोर भए पनि दमौलीमा अझै केही वर्ष हार्न मान्दैन । कारण, दमौली पञ्चायतकालमा बसेको बस्ती भए पनि बसाउनेहरू कांग्रेस थिए । दमौलीको स्थानीय नेतृत्व सधैँ नै कांग्रेसहरूकै हातमा रह्यो । अहिले तिनैको दोस्रो, तेस्रो पुस्ता नेतृत्वमा छ । पुल उद्घाटनका बेलाको तस्बिरमा देखिएका उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारी सायद २४ /२५ सालतिर फराकचौर गाउँ पञ्चायतका प्रधानपञ्च थिए । रामचन्द्र पोखरेल दमौलीसँगै स्थापित निर्मल हाई स्कुलका प्रधानाध्यापक थिए । कृष्णचन्द्र नेपाली निर्मल हाई स्कुलका शिक्षक थिए । यो हुलको रानो भन्न मिल्ने मेघनाथ कैनी हुन् । सदरमुकाम सरेसँगै तेजबहादुर पन्त पनि दमौली  बस्न थालेका थिए । पुरुषोत्तम काफ्ले, भोजराज खनाल दमौलीमा कांग्रेसको जरो बसाउनेहरू हुन् । तारापति भट्टराई सभापति छँदा २०२८ /२९ सालतिर कृष्णप्रसाद भट्टराईलाई जिल्ला पञ्चायतको अतिथि गृहमा बसाएका थिए । तिनताका अरू कतै कसैले किसुन जीलाई सरकारी आतिथ्य दिएको र उनले ग्र्रहण गरेको कुनै घटना सम्झनामा छैन । 

पञ्चायतको सबैभन्दा उग्रकाल २०३२—३६ मा गाउँफर्कले समेत तोकेको मान्छेलाई प्रधानपञ्च बनाउन नसकेको ठाउँ हो दमौली । वामदेवले गराएको चुनावमा पनि कांग्रेसले जितेको ठाउँ हो दमौली । जनमत संग्रहताका मन्त्रीहरू दमौलीबाट लघारिन्थे । त्यतिबेला शिक्षक रहेका गोविन्दराज जोशी, अमरराज कैनी, कृष्णचन्द्र नेपालीलाई दुर्गम भेगमा सरुवा गर्दा महिनौ सदरमुकाम बन्द गरिएको थियो । कांग्रेस त २०४६ पछि आफ्नै कार्यकर्तालाई समेत नेता र तिनका चापलुसहरूले हेप्न थालेपछि पो कमजोर भएको हो त । 

पौडेललाई चुनावमा हराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताको मनोबल उकासिनु स्वाभाविकै हो । तनहुँको क्षेत्र नं १ मा पौडेललाई चुनाव हराउनुको अर्थ उनीहरूले त दमौलीमा कांग्रेसलाई जितेको ठानेछन् । त्यहीँ तिनको हिसाब गडबढियो । दमौलीको साटो अन्यत्र यस्तै घटना भएको भए सायद यति ठूलो तरंग उत्पन्न्न हुने थिएन । 

दमौलीको बुधवारको घटना कांग्रेसको अहम्मा लागेको चोटले जन्माएको आक्रोश र कम्युनिस्टहरूको कुण्ठाको परिणाम हो । सरकारको व्यवहार सर्वसत्तावादी हुँदै हो तर यसमा ठूलो र पूर्वनियोजित षड्यन्त्र भएजस्तो देखिँदैन । कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेर कार्यकर्ताको आक्रोशलाई निकास दिन खोजेको हुनुपर्छ । सम्भवतः विरोध प्रदर्शनपछि अहिलेको तरंग सामसुम हुनेछ । तर, दमौलीमा कांग्रेसको अहंमा चोट लाग्ने काम कसैले  गरे भने फेरि पनि ‘बुमरेङ’ हुनेछ । दमौलीमा कांग्रेसजनले हार भोगेकै छैनन् ।  

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्