
काठमाडौं । न्यु इयर इभ अर्थात् नयाँ वर्षको अघिल्लो दिन । २०७६ को अन्तिम दिन कुनै रौनक थिएन ।
घरघरका बत्ती बालिएनन् । रेस्टुरेन्ट र पबमा म्युजिक घन्किएनन् । साथीसंगी भेला भएर नयाँ वर्षलाई स्वागत गर्ने मुड बनाएनन् । बनाएकाहरुले मनाएनन् । लोडसेडिङ अन्त्य भए पनि न्यु इयर इभमा राजधानी अन्धकारमय थियो ।
कारण हो, कोरोना कहर । नयाँ वर्ष २०७७ लाई स्वागत गर्नै चाहेको देखिएन, काठमाडौं सहर । काठमाडौंमात्रै होइन यतिबेला बाँकी विश्व नै आतंकित छ । चीनको वुहानबाट सुर भएको कोरोनाभाइरसको संक्रमण यतिबेला विश्वका करिब २ सय देशमा देखिएको छ ।
यही साँझ कोरोनाले उकुसमुकस बनाएपछि गाउँ फर्किँदै थिए, केही सपनाहरु । अर्थात् ‘बङ्क’ गर्दै थिए उनीहरु ।
लकडाउनका कारण दिनमा हिँड्न नपाइने भएका कारण उनीहरु रातारात घर फर्कँदै थिए । कोही सिमरा जाने ट्रक कुर्दै थिए, कोही धादिङसम्म जाने अटोमोबाइल नै भए पनि हुन्छ भन्दै थिए ।
सातजनाको अर्को टोली हिँडेरै बर्दिया जाने सुरमा थानकोटसम्म पुग्दै थियो ।
दिउसै राजधानी छाडेर जानेको संख्या ठूलो हुने गरे पनि उनीहरु भने साँझ साँझमै राजधानीलाई ‘बाइबाइ’ भन्न खोज्नुको कारण छ । चैत ३० गते साँझ ९ बजेदेखि १० बजेका बीचमा राजधानी छाड्न तम्तयार देखिएका ती सर्वसाधारण सरकारले आह्वान गरेको लकडाउनप्रति सजग थिए ।
दिनमा संक्रमणको डर र प्रहरीको कडा निगरानी । उल्लंघन गर्दा कारबाही भोग्नुपरेको समाचार सञ्चारमाध्यममा प्रशारण भइरहेकै थियो ।
अर्कातर्फ उनीहरुलाई समाजको डर थियो । सपना बुनेर राजधानी छिर्दाको शान कारवाहीमा परेर गुमाउन उनीहरुको रहर थिएन । न त उनीहरुले प्रहरी प्रशासन र सञ्चारकर्मीको सहयोग नै माग्न सके । किनकि भोली समाजले फेरि ‘खान नपाएर फर्किइस्’ भन्ला भन्ने डर त छँदैछ ।
त्यसैले ‘बङ्क’ नै उनीहरुका लागि उपर्युक्त विकल्प थियो । सुटुक्क भाग्ने ।
त्यसरी सुटुक्क भाग्ने तीनवटै टोलीले बाह्रखरीसँग परिचय खुलाउन चाहेनन् ।
०००
कलंकीमा भेटिएका ३२ वर्षीय पुरुषले बाहिर खान नपाएको पीडा भए पनि मनमा बुनेका सपनाहरु भस्म भएको पीडा सुनाए । उनले भने, “सबैलाई देखाउन कोरोनाले गर्दा जागिर गुमेको र त्यसले जन्माएको आर्थिक अभाव समस्या छ । तर, आफ्नो मन अर्कै कुराले पोलेको छ ।”
फेरि फर्केर जाँदा समाजले ‘खान नपाएर आइस्’ भन्ला कि भन्ने पीर छ, उनलाई ।
श्रीमती र दुई छोरीसँग उनी आइतबार साँझ सिमरा जान प्रयास गर्दै थिए । “ट्रक आउला कि भनेर बसेको । आए र रोके त्यसैमा चढेर जाउँला नत्र कुलेश्वरको कोठा फर्कौँला,” उनले थपे । सरकारको निर्णय २ घण्टा पनि टिक्न नसकेको प्रति उनको ठूलो गुनासो छ ।
भने, “कति फुरुक्क भइयो । मभन्दा पनि बढी छोरीहरु मख्ख परेका थिए । चार भित्तामा खुम्चिएर मनै गर्दैनन् । बिचरा मेरा छोरीहरुको खुसी किन देख्न सकेन सरकारले ?” सरकारप्रति नै उनको बढी गुनासो छ । भारतले जस्तो निर्णय गर्यो, नेपाल सरकार पनि पछ्याउँदै उस्तै निर्णय गर्ने आफूले अनुभूत गरेको उनले बताए ।
राहतको पनि कुनै भर थिएन उनलाई । किनकि वडा कार्यालयमा उनको नाममा राहत आएकै छैन । किनकि उनको घरबेटी उनका लागि हस्ताक्षर गरिदिनै मान्दैनन् ।
उनले भने, “त्यहीँ गएर नाम लेखाए पनि तीन दिनपछि आउँछ । मैले बालख छोरीहरुलाई तीनदिन पछिमात्र खान पाइन्छ भन्ने ?” केही पर सतुंगलमा बसेको अर्को टोलीको कथा उस्तै थियो । गल्कोपाखामा बस्ने उनीहरु धादिङ जान चाहेका थिए । उनीहरुको पनि पीडा उस्तै थियो । कोही पनि कुरा गर्ने मुडमा थिएनन् वा उनीहरुलाई समाजले धमिलो ऐना देखाउला भन्ने डर थियो । चितवन जाने पोल्ट्रीको गाडीमा गए उनीहरु ।
रौनक त कसैलाई पनि छैन, न्यु इयरको । फेसबुकमा शुभकामना आदानप्रदानमा सीमित छ जीन्दगी । तर, थानकोटमा भटिएको ७ जनाको एउटा टोलीलाई फेसबुकमा कसैलाई शुभकामना दिनु छैन । रातको १० बजेको छ । तर, गन्तव्य निकै टाढा छ उनीहरुको । बर्दियासम्मको । कलंकीदेखि थानकोट पुग्दै असिनपसिन भएका छन् । झोलामा लगाउने कुराहरु छ । खानेकुरा छैन । खल्तीमा धेरै रुपैयाँ पनि छैन ।
जसोतसो यतिका दिन टर्यो । बाँकी दिन काट्न असम्भव भएपछि उनीहरु कुम्लोकुटुरो कसेर हिँडेको बताउँछन् । सातमध्येका एक चाहिँ चक्कावाला सुटकेस गुडाउँदै थिए । बाँकीले ढाडमा झोला भिरेका थिए ।
थानकोटमै भेटिएका एक सवारी चालकले न्युनतम खर्चमा चितवनसम्म पुर्याइदिने बताए पनि उनीहरुले पैसाको अभावका कारण सो प्रस्ताव अस्वीकार गरे । किनकि राजधानीमा ज्यामी काम गर्ने उनीहरुको रोजगारी बन्द भएको छ । एउटै कोठामा कोचिएर ७ जना सुत्ने गरेका थिए । “अब, त अति नै भयो भनेर हिँड्यौं,” सातमध्येका एकले भने ।
“कहिले पुगिन्छ त बर्दिया ?” भन्ने प्रश्नमा उनले भने, “७ दिनमा त पुगिएला ।” तीन दिनमा चितवन र बाँकी दिनमा घरैसम्म पुग्ने योजना छ उनीहरुको । यसअघि उनीहरुका केही साथीहरु पाँचदिनमा बर्दिया पुगेका थिए । कपिलवस्तुसम्म हिँडेर पुगेका उनीहरुलाई अर्को दिन त्यहीँको स्थानीय तहले उद्धार गरेको थियो ।
०००
राजधानी बङ्क हान्ने क्रम दिनरात जारी छ । नागढुंगाबाट रातमा भन्दा दिउसो हिँडेर जाने सर्वसाधारणको संख्या बढी हुने गरेको ड्युटीमा रहेको प्रहरीले बताए ।