site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस र एमाले किन बन्दैछन् एकापसमा आक्रामक ?

काठमाडौं । ‘नेकपा एमालेले मधेसका जनतालाई जनता नै होइनन् भनेर पहाड र मधेसमा लडाइँ गराउने प्रयास गरेको छ । उखान टुक्का भनेर मात्रै देश चल्दैन । उखान टुक्काले देश चल्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भैहाल्यो नि ! विदेशी दातृ निकायले हामीलाई पत्याएर दिएको पैसा एमालेले वृद्धभत्ता भन्दै बाँड्यो,’ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार धनगढीमा भएको सभामा यस्तो वक्तव्य दिएको २४ घण्टा नबित्दै नेकपा एमालेको स्थायी कमिटीले अर्को निर्णय गर्यो ।

‘कैलालीको अत्तरियामा नेपाली कांग्रेसद्वारा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका सभापति माननीय शेरबहादुर देउवाले हाम्रो पार्टी र नेतृत्वलाई लाञ्छित गर्ने ढंगले दिनुभएको अभिव्यक्तिप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । सत्तामा रहेको जिम्मेवार पार्टीको शीर्ष नेतृत्वबाट सामाजिक संवेदनशीलता, मुलुकको भौगोलिक एकता, अखण्डताजस्ता गम्भीर प्रश्नमा हल्काफुल्का टिप्पणीहरू नगर्न बैठकले सचेत गराएको छ,” एमाले स्थायी कमिटीले गरेको निर्णयमा भनिएको छ । निर्णयमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

एमालेले विज्ञप्ति जारी गरोस् वा आलोचना, कांग्रेस सभापति देउवाले एमालेप्रतिको तिखो टिप्पणी गर्न बुधबारसम्म छाडेका छैनन् । मंगलबार भैरहवामा भएको कार्यक्रममा पनि एमालेलाई गाली गर्न भ्याए । उनले एमालेकै कारण मधेस र पहाडमा द्वन्द्व बढेको बताए ।

Argakhachi Cement Island Ad

पोखरामा पुगेर पनि उनी एमालेप्रति नै बढी आक्रोशित बने । एमालेका कारण मुलुक द्वन्द्वमा प्रवेश गर्न लागेको उनको टिप्पणी थियो । देउवाले कैलालीमा एमालेप्रति गरेको टिप्पणीले एमालेका धेरै नेता अहिले देउवाविरुद्ध उत्रिएका छन् । 

किन यसरी व्यक्तिगत रूपमा नै कांग्रेस र एमालेका नेताहरु गालीगलौजमा उत्रिए त ? एक राजनीतिज्ञ भन्छन्– देउवाकै कारण नेकपा एमाले दाहाल नेतृत्वको सरकारमा जानबाट रोकिएको हो । उनले एमालेलाई कुनै पनि हालतमा सरकारमा ल्याउनहुँदैन भनेर लागे । त्यो मात्रै होइन, केपी ओली र पुष्पकमल दाहालबीचको गठबन्धन तोड्ने काम देउवाले नै गरेका हुन् ।

आइतबार एमालेप्रति गरेको टिप्पणी सेलाउन नपाउँदै सामाजिक सञ्जाल ट्वीटरमा एमालेका प्रचार विभाग प्रमुख भट्टराईले देउवाप्रति आक्रोश व्यक्त गर्दै लेखे– पढेलेखेकालाई नै उखानटुक्का पनि आउँछ, अनपढलाई त कालो अक्षर भैंसी बराबरः देउवाजी !’

उनको यो विचार कांग्रेसका नेता तथा कार्यकर्तालाई सह्य भएन । उनीहरूले उनको विचारप्रति आक्रोश व्यक्त गर्दै कडा टिप्पणी गरेका छन् ।

त्यसमध्ये कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले भट्टराईको भनाइप्रति टिप्पणी गर्दैै अर्को ट्वीट गरेका छन्– कुन पार्टीका अध्यक्षले कति पढेका छन्...त्यो पनि खोजौं ! तर कमरेड हाम्रो पुस्ताको पहिचानमा तिक्त बोलीको लेप एकदमै नलगाऔं !!’

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दुई ठूला दलका जिम्मेवार नेताले पछिल्ला केही दिनमा एकअर्काप्रति देखाएको टिप्पणी हुन् यी ।
हुनत नेपाली कांग्रेस र एमालेबीचमा यस्ता तिक्तता र आरोप प्रत्यारोप नयाँ र नौला होइनन् ।

संसद्मा धारणा राख्दा होस् वा सार्वजनिक कार्यक्रममा, एकले अर्कालाई यसैगरी खरो टिप्पणी गर्न पछि परेका छैनन् ।

अर्का एक टिप्पणी राजनीतिज्ञको टिप्पणी छ– कांग्रेस÷एमाले पहिले त झनै आमनेसामने हुन्थे । तर यी दुई दलले बीचमा सँगै रहेर काम पनि गरे । प्रमुख ठूला दल यिनै भइरहे । संसारभर नै प्रमुख दुई ठूला दल यसरी नै एकले अर्कोलाई आक्रमण गर्न पछि पर्दैनन् । नेपालमा पनि बेला बेला देखिन्छ । अझ चुनावको बेला यो मसलाको रूपमा प्रयोग गर्न खोजिएको छ ।”

मुख्य समस्या दुवै दलमा छ । दुवै दलले एकले अर्कोलाई स्वीकार्ने अवस्था त छँदै छैन त्यसबाहेक उनीहरु दुवै तेस्रो हुने कल्पना सम्म पनि गर्दैनन् ।
“यी दुई दलले एमाओवादी केन्द्र र राप्रपालाई प्रतिष्पर्धी नै मानेका छैनन्,” उनको टिप्पणी छ, “कांग्रेसले एमालेलाई तल पारेर र एमालेले कांग्रेसलाई तल पारेर पहिलो पार्टी हुने दाउमा छन् ।”

ती टिप्पणीकारका अनुसार दुवै दलले नबुझेको अर्को कुरा के हो भने एमालेको मत काटिएर कांग्रेसमा र कांग्रेसको मत काटिएर एमालेमा जाने होइन । 

यहाँ त कांग्रेसको मत काटियो भने राप्रपामा र एमालेको मत काटियो भने माओवादी केन्द्रमा जान्छ तर यो कुरा उनीहरुले बुझेर पनि नबुझेजस्तो गरिरहेका छन् । किनकी माओवादी र राप्रपालाई प्रतिस्पर्धी मानेकै छैनन् ।

नेपालको राजनीतिक इतिहास भने फरक छ । दुई दल नमिल्दा अर्को दल बलियो भएको छ ।

“०५१ सालमा एकले अर्कोमाथि यसैगरी आक्रामक व्यवहार गरेका थिए,” उनको तर्क छ, “त्यसबेला राप्रपाले सोँचेको भन्दा बढी भोट ल्यायो । २०४८ र २०५६ मा सँगै सरकारमा भएर निर्वाचनमा जाँदा अन्य दलले सोचेअनुसार मत ल्याउन सकेनन् ।”

संविधानविद् एवम् राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भने दुई दलको व्यवहार चुनावी प्रचार अभियानको सीमाभन्दा निकै नाघिसकेको बताउँछन् ।
उनका अनुसार एउटै सिस्टम मान्ने दल र त्यसका नेताहरु यसरी एकले अर्कोलाई सिध्याउने गरी लाग्नु भनेको लोकतन्त्रका लागि खतरा हो ।

“यदि चुनाव केन्द्रित हो भने पनि सीमाभन्दा बाहिर गयो,” आचार्यले बाह्रखरीसँग कुरा गर्दै भने, “विगतमा पनि एउटै सिस्टमभित्र यस्तो देखिँदैनथ्यो । सिस्टम नमान्नेबीच भने यस्तो देखिँदैनथ्यो । प्रजातान्त्रिक सिस्टम मानेका दलहरुबीच यस्तो देखिनु अस्वभाविक हो ।”


 

प्रकाशित मिति: बिहीबार, चैत ३१, २०७३  १४:३२
प्रतिक्रिया दिनुहोस्