_559640077.jpg)
काठमाडौं । एनसेल बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिताको तेस्रो संस्करण गोकर्ण गल्फमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा टासी छिरिङ दोङले प्रतियोगिताको उपाधि जितेका छन् । उनले ३९ पोइन्ट स्कोर गरेर प्रतियोगितामा बाह्रखरी गोल्डेन बल जित्न सफल भएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उनलाई गोल्डेन बल, ट्रफी प्रदान गरेका थिए ।
गल्फको बेष्ट ग्रोसको उपाधि सुरेन्द्र फुयाँलले जितेका छन् । ३४ ग्रस पोइन्ट ल्याएका सुरेन्द्रलाई बेस्ट ग्रोसको उपाधि दिइएको हो । प्रतियोगितामा ३९ स्कोर गरेका सुरेन्द्र दोस्रो भएका हुन् । महिलातर्फ कश्मिरा शाहले ३६ स्कोर गरेर ट्रफी प्राप्त गरेकी छन् । मेजर जनरल सिनियरतर्फ महेशविक्रम कार्कीले तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा जुनियर १७ वर्ष मुनिका खेलाडीहरुतर्फ श्रीयोग बस्नेतले ३१ स्कोर गरेर उपाधि जितेका छन् । त्यस्तै गरेर लङ्गेष्ट ड्राइब विजय श्रेष्ठले जिते । क्लोजेष्ट टू दि पिन स्टेफेनी मेन्डी वीले जितेकी छन् । एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको तेस्रो संस्करण विश्वको सबैभन्दा अग्लो स्थानमा उद्घाटन गरिएको थियो ।
गत आइतबार, मंगलबार र बिहीबार गरी २५ कर्पोरेट गल्फरले कोङ्दे री र स्याङ्बोचेमा एक होल खेलेका थिए ।
सोलुखुम्बुको कोङ्दे रीको चारहजार दुई सय पचास मिटरको उचाइमा खेलिएको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको हुनाले रेकर्ड ब्रेक गरेको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । बाँकी खेल शनिबार गोकर्ण गल्फ क्लबमा भएको हो ।
प्रतियोगिता समापनपछि पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले बाह्रखरीले आयोजना गरेको गल्फ प्रतियोगिताले पर्यटन प्रव्द्धनमा सहयोग पुगेको बताए । मन्त्री भट्टराईले भने, “बाह्रखरी गल्फले पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ल्याएको छ । यो प्रतियोगिताबाट हामीले गल्फ क्षेत्रमा नयाँ रेकर्ड राखेका छौं । पर्यटन प्रवर्द्धनका लागि बाह्रखरीले गरेको यो कामले सहयोग पुग्नेमा म विश्वस्त छु । यस प्रतियोगितालाई हेरेर नै विदेशी पर्यटन नेपालप्रति आकर्षित हुनेछन् ।”
त्यस्तै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले गल्फ प्रतियोगितामा एक नयाँ रेकर्ड कायम राख्दा बेग्लै अनुभूति भएको बताए । “यो कार्यक्रम कार्यक्रम गर्न सहज थिएन । हामीले निकै मेहनतका साथ यो प्रतियोगिता सम्पन्न गरेका छौं, विश्वको अग्लो स्थानमा प्रतियोगिता आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको भए पनि हामीले हार मानेनौं ।”
त्यस्तै गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरी मिडियाले गल्फ र नेपालको पर्यटनको क्षेत्रमा ठूलो योगदान गरेको भन्दै आभार व्यक्त गरेका थिए । खेलाडीको तर्फबाट विकास राणाले कोङ्दे रीमा भएको कार्यक्रमको अनुभव राखेका थिए । उनले राज्यले गर्ने काम बाह्रखरी मिडियाले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
उनले हिमाली क्षेत्रमा गल्फ प्रतियोगिताको नयाँ अनुभव भएको पनि बताए
“मेरो लागि निकै गर्विलो र अचम्मित कार्यक्रम थियो । मैले पहिले टीअफ गर्ने मौका पाएको थिएँ । योजनाअनुसार नै कार्यक्रम सम्पन्न भएको थियो ।”
गोकर्ण गल्फका डाइरेक्टर दीपक आचार्यले हालसम्म भएको गल्फ प्रतियोगितामध्ये बाह्रखरी गल्फ प्रतियोगिता विशेष भएको बताए । “देशमा भएका विभिन्न गल्फ प्रतियोगिताले आफ्नो ठाँउमा बेग्लै खालको विशेषता बोकेका छन् । तर बाह्रखरी गल्फको विशेषता बेग्लै छ । यो प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिएको छ । यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको हो,” आचार्यले भने ।
प्रतियोगितामा भाटभटेनी सुपरमार्केट र सिभास रेगल कार्यक्रमका प्रायोजक थिए । थाइ एयरलाइन्स एयरलाइन्स पार्टनर, कार्ल्सबर्ग बेभरेज पार्टनर, ग्लोबल आएमई बैंकिङ्ग पार्टनर र टाटा एच फाइभ भेइकल पार्टनर थिए । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि गरिएको कार्यक्रममा १८ बढी विदेशी पत्रकारसमेत उपस्थित थिए ।