
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले एनसेल बाह्रखरी गल्फले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । बाह्रखरीले आयोजना गरेको एनसेल बाह्रखरी गल्फ आइतबार बिहान सगरमाथा क्षेत्रको कोङ्दे रीमा भएको थियो । कोङ्दे रीमा ६ जना र स्याङबोचेमा आठजना कर्पोरेट गल्फरले भाग लिएका थिए ।
उक्त प्रतियोगिता विश्वकै उचाइमा भएको थियो । नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आयोजना गरिएको गल्फमा १७ होल शनिबार गोकर्णमा खेलाइनेछ ।
नेपाल पर्यटन बोर्डले उक्त प्रतियोगितामा सहभागी खेलाडी तथा विदेशी पत्रकारको स्वागतका लागि सोमबार बेलुका गरेको कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले एनसेल बाह्रखरी गल्फले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
“मैले नेपाल सरकारको तर्फबाट यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु,” मन्त्री भट्टराईले खेलाडी तथा विदेशी पत्रकारको टोलीलाई स्वागत गर्दै भने, “नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । हामीले २० लाख पर्यटकलाई स्वागत गर्न आतुर छौं । त्यसलाई सहयोग पुग्नेगरी विश्वकै उचाइमा एनसेल बाह्रखरी गल्फ आयोजना गर्नुभयो । यसले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । अझै खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
मन्त्री भट्टराईले नेपाल धेरै हिसाबले प्रख्यात रहेको जनाउँदै मौसममा आएको खराबीका कारण सबै गल्फर सहभागी हुन नसके पनि आउँदा दिनमा गर्न प्रोत्साहन मिलेको बताए ।
“मैले यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु,” उनले भने, “विदेशी पत्रकार साथी र खेलाडीको नेपाल बसाइ सुखद हुनेछ भन्ने विश्वास लिन चाहन्छु । एउटा राम्रो र धेरै स्मरणीय सम्झना लिएर यहाँहरु आफ्नो देशमा फर्किनुहुनेछ । धेरैभन्दा धेरै आफ्ना साथहरुलाई सन् २०२० मा नेपाल ल्याउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त चाहन्छु ।”
कार्यक्रममा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै विदेशी पत्रकारको आगमनले कार्यक्रम झनै महत्वपूर्ण बनेको बताए ।