_146186735.jpg)
कोङ्दे (सोलुखुम्बु) । बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । ४,२५० मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पुर्याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको पहिलो दिन आज (आइतबार) ४,२५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्दे री मा ६ जना गल्फर र ३,८८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए ।
प्रतिकूल मौसमका बाबजुद पनि एनसेल बाह्रखरी गल्फ सगरमाथा क्षेत्रमा भएको हो । बाह्रखरी गल्फले विश्वमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको गल्फको रेकर्ड राखेको बाह्रखरी मिडिया प्रालिका उप–महाप्रबन्धक सूर्य घिमिरेले बताए । दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ । प्रतियोगिताले नेपाली पर्यटन प्रवर्र्धनमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगितामा सहभागी खेलाडीहरुको धारणा छ ।
प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।
बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो ।
“अविष्मरणीय क्षण रह्यो मेरो लागि । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ । गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो । अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि ऐतिहासिक क्षण हो । यो नेपालका लागिमात्र होइन, विश्वकै इतिहासमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिताको रुपमा हेरिएको छ,” समिट एयरका सञ्चालक तथा गल्फल विकास राणाले भने ।
साथै उनले देशको पर्यटकीय क्षेत्रमा भएको यो प्रतियोगिताले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । अन्तर्राष्ट्रिय मिडियाले यसको कभरेज गरेकाले पनि विश्व जगतमा यो प्रतियोगिताले आफ्नो छुट्दै महत्व राख्ने उनको विश्वास छ ।
त्यस्तै प्रतियोगिताको पहिलो समूहमा खेलेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् । “यति अग्लो ठाउँमा गल्फ खेल्दा फरक अनुभूति हुने रहेछ । मैले आजको खेलबाट बेग्लै खालको अनुभूति पाएकी छु । यो प्रतियोगिताले देशको खेल क्षेत्रमा मात्र नभई पर्यटकीय क्षेत्रमा पनि धेरै राहत दिनेछ । हामी जस्तो गल्फमा फरक अनुभव लिन चाहनेहरुका लागि यो प्रतियोगिताले धेरै राहतको अनुभूति दिलाएको छ,” घिमिरेले भनिन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । दुई चरणमा गरी करिब एक सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय मिडियाले पनि प्रतियोगितालाई महत्वपूर्ण हिसाबले हेरेको हुनाले यसले पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
“मैले ३० वर्षदेखि गल्फ खेल्दै आइरहेको छु । मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु । यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो । यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु । हिमालको फेदमा नै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,” गल्फर राजेन्द्र क्षेष्ठले भने ।त्यस्तै प्रतियोगितामा सहभागी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको बताइन् । १० वर्षे गल्फ करियरमा पहिलो पटक यो खेलप्रति आनन्द आएको महसुस भएको उनको भनाइ छ ।
“साधारण स्थानमा गल्फ खेल्नु र यो उचाइमा गल्फ खेल्नुमा धेरै फरक रहेछ । चिसोका कारण पनि धेरै उत्कृष्ट तरिकाले खेल्न सकिएन । तर मेरो लागि गल्फ करियरमा बेग्लै खालको अनुभव भएको छ । यही प्रतियोगिताको सिको गर्दै अन्य विदेशी खेलाडीको पनि यस क्षेत्रमा आगमन हुने मेरो विश्वास छ,” राणाले भनिन् ।