site stats
बाह्रखरी :: Baahrakhari
विचार
‘खलनायक’ हुन पुगेका ‘नायक’ को अन्त्य

मन्त्रिपरिषद्को अध्यक्ष, प्रधानमन्त्री भइसकेपछि पनि तत्कालीन राजा ज्ञानेन्द्रको शासनमा बाह्र वर्षपछि नेपाल फर्केर उपाध्यक्ष बन्ने डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा देहावसान भयो । आफ्नो समयका यी दबंग राजनीतिज्ञलाई मन पराउनेभन्दा मन नपराउने धेरै होलान् तर उपेक्षा गर्न भने कसैले पनि सक्तैन । 

डा. तुलसी गिरीको देहावसान एउटा युगको पटाक्षेपकै उपक्रम हो । सायद, अब पञ्चायत सुरु हुँदाका निर्णायक हस्तीहरू धेरै बाँकी छैनन् । नेपाली कांग्रेसका नेतालाई ‘नायक’ ठानेर हुर्केको हाम्रो पुस्ताका लागि तुलसी गिरी ‘धोकेवाज खलनायक’ थिए ।  ‘‘बीपी कोइरालाका निकट र विश्वासप्राप्त भएर पनि तुलसी गिरी र विश्वबन्धु थापाले धोका दिए । यिनैको सहयोगमा राजा महेन्द्रले संसदीय लोकतन्त्र समाप्त पारेर पञ्चायत लागु गर्न सकेका हुन् । यसैले यिनीहरू कृतघ्न राजनीतिज्ञ हुन्,’’ हामी यस्तै सुनेर हुर्केका हौँ । (पछि विश्वबन्धु थापाका कुरा सुन्ने र अलिकति नजिकबाट हेर्ने मौका मिल्यो । त्यसपछि उनको राजनीति निरपेक्ष हुँदा व्यक्तिका रूपमा श्रद्धा लाग्यो । पञ्चायतमा प्रवेश गरेका नेपाली कांग्रेसका कुनै बेलाका महामन्त्रीहरू श्रीभद्र शर्मा, परशुनारायण चौधरीको संगत गर्ने मौका पाएँ । व्यक्तिका रूपमा यिनीहरू असल र लोकतान्त्रिक थिए । अहिलेका नेताहरूको दाँजोमा धेरै गुणा भद्र, शिष्ट थिए र संस्कार पनि लोकतान्त्रिक थियो ।) 

डा. तुलसी गिरीका बारेमा भने उनका समकालीन कांग्रेसका नेता कार्यकर्ताले खासै सकारात्मक वा भावनात्मक निकटताको चर्चा गरेनन् जति विश्वबन्धु दाइका बारेमा गर्थे । यसैले उनका बारेमा सुनेका कुरामात्र लेख्दैछु । पक्कै पनि डा. गिरी प्रतिभाशाली र चतुर व्यक्ति हुन् । बेला र व्यक्तिको महत्त्व बुझ्न सक्ने क्षमताले उनलाई बीपी कोइरालाको निकट बनायो भने राजा महेन्द्रलाई पनि यही गुणले रिझायो । यसैले उनमा महत्त्वाकांक्षा पनि उत्तिकै चर्को देखिन्छ । राजा महेन्द्रसँग पनि उनको धेरै समय विचार मिलेन । डा. गिरी राजाबाहेक दरबारका अरू कसैलाई टेर्दैनथिए रे । सायद यही कारणले दरबारियाहरूले गिरी र राजाका बीचमा फाटो पारे । पञ्चायतकालमा डा. गिरी उपाध्यक्ष रहेका बेलाको सरकारका मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागेको थिएन । तर, राजा महेन्द्र भने त्यति चोखा थिएनन् । सायद, लोकतन्त्र विरोधी यी दुई जनाका बीचमा फाटो पार्ने यो पक्ष पनि थियो ।  

Argakhachi Cement Island Ad

नेपाल युवक संगठनबाट प्रतिनिधित्व हुने राष्ट्रिय पञ्चायतका सदस्यको निर्वाचन हेटौँडामा हुँदैथियो । डा. गिरी पनि आफ्ना उमेदवारलाई जिताउन हेटौँडा पुगेका थिए । यो २०२८ सालको घटना हुनुपर्छ । उनी त्यहीँ रहे भने सरकारी उमेदवार हार्ने देखेर डा. गिरीलाई काठमाडौं फर्काउन उनको पारिवारिक विवादको हल्ला फैलाइयो । अनि रातारात डा. गिरी फर्के र सरकारी उमेदवारमध्ये ३ जनाले जिते भन्ने हल्ला त्यति बेला चलेको थियो । अर्थात्, पञ्चहरूकै लागि पनि सहज थिएन डा. गिरीको व्यक्तित्व । त्यसो त डा. गिरीलाई पञ्चायतकालमा सुरक्षा कानुन लगाएर थुनामा पनि राखिएको थियो । राजालाई पनि घुर्की लगाउने हैसियतमा पुगेका थिए डा. गिरी । पञ्चहरूका लागि डा. गिरी अभिशप्त ‘नायक’ थिए । 

राष्ट्रिय पञ्चायतको एउटा चुनावमा डा. गिरीको दर्खास्तै खारेज भएको प्रसंग पनि सुनेको छु । सायद २०२५ सालतिरको होला । जनकपुर अञ्चलको धनुषाबाट राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचन हुने भयो । डा. तुलसी गिरी पनि चुनावमा उठ्ने भएछन् । उनलाई हराउन प्रधानमन्त्री सूर्यबहादुर थापाले उपयुक्त पात्र खोज्दै जाँदा तनहुँका सुरवीर अधिकारी तयार भएछन् । उनलाई अञ्चल न्यायाधीशका रूपमा पठाइएछ । निर्वाचन अधिकृत नै अञ्चल न्यायाधीश हुने व्यवस्था थियो ।

अञ्चलभित्रका सबै जिल्ला पञ्चायतका सदस्यहरू निर्वाचक मण्डलका सदस्य हुन्थे । चुनाव भएमा डा. गिरी जित्न सक्थे । अर्का उमेदवार रुद्रप्रसाद गिरी थिए सायद । विसं २०१८ सालपछि ६ वर्ष जेलमा बिताएर रिहा भएका रुद्र गिरीले पञ्चहरूको चुनावमा जित्न सजिलो थिएन पनि होला । अञ्चलभरकाले मत दिने भए पनि प्रस्तावक र समर्थक जिल्लाभित्रका नै हुनुपर्थ्यो । षड्यन्त्र हुने शंकाले डा. गिरीले रुद्र गिरीको दर्खास्त परेपछि प्रस्तावक र समर्थक हेरेर फरक व्यक्तिलाई राखेर दर्खास्त दर्ता गराएछन् । तर, निर्वाचन अधिकृत नै उनलाई हराउन खटिएका । रुद्र गिरीको दर्खास्त फेरेर डा. गिरीकै प्रस्तावकलाई प्रस्तावक राखिदिएछन् । दाबी विरोध गर्नेबित्तिकै पहिले परेको रुद्र गिरीको दर्खास्त सदर गरेर तुलसी गिरीको उमेदवारी खारेज गरेछन् । यस्तै खेलको सिकार गोरखामा विनोदप्रसाद धिताल पनि भएका थिए रे !    

अर्को एउटा पुस्तकको प्रसंग कसैले सुनाएको थियो । यो २०३२ सालपछिको घटना हो । दरबारका सचिवहरू मन्त्रीहरूलाई पुस्तक पढ्न प्रेरित गरिरहन्थे । दरबारले ‘टेक्नोक्य्राट’ हरूलाई राजनीतिमा अगाडि बढाउने नीति अपनाएको थियो ।

सरकारी सेवाबाट डा. भेषबहादुर थापालाई मन्त्री बनाइएको थियो । डा. हर्क गुरुङ पनि मन्त्री बनाइएका थिए । डा. मोहम्मद मोहसिनलाई गाउँफर्क राष्ट्रिय अभियानको सदस्य सचिव बनाइएको थियो । यस्तैमा दरबारका सचिवहरूको पुस्तक चर्चाबाट दिक्क भएका डा. गिरीले डा. मोहसिनलाई कुनै एउटा काल्पनिक लेखक र उसको पुस्तकका बारेमा सुनाइदिएछन् । बिस्तारै त्यस पुस्तकको चर्चा फैलँदै गएर दरबारका कुनै सचिव अहिले सम्झना छैन नारायणप्रसाद श्रेष्ठ हुन् चिरन शमशेर थापाले डा. गिरीलाई त्यही पुस्तक पढ्न सुझाएछन् । पछि डा. गिरीले यो प्रसंग पञ्चहरूलाई सुनाएका थिए रे ! 

डा. तलुसी गिरीले जनमत संग्रहको घोषणालाई राजाले पञ्चलाई धोका दिएको रूपमा व्याख्या गरेका थिए । पञ्चायतमा राजाको सक्रिय नेतृत्व हुनुपर्छ भन्ने उनको मत थियो । त्यसैको पैरवी गरे । सुधारिएको भनिएको पञ्चायतको राजनीतिमा सहभागी भएनन् । पञ्चायतलाई सूर्यबहादुर थापाको चातुर्यले मात्रै जिताउन सक्तैन भन्ने ठानेर कट्टर पञ्चहरूले तुलसी गिरीलाई जनमत संग्रहमा संलग्न गराउन खोजे । उनलाई ‘पञ्चायतकी आमा’ भने । त्यतिबेला लाग्थ्यो, पञ्चहरू तुलसी गिरीको खराउलाई गुरु थापेर राजनीतिक मैदानमा उत्रेका छन् । भारदारहरू, सूर्यबहादुर थापा समूह र तुलसी गिरीका समर्थकहरू बीच त्रिकोणात्मक संघर्ष र सहकार्य थियो जनमतमा बहुदलीय शासन व्यवस्थालाई हराउन । 

देशभित्र बस्ने हो भने पञ्चायतको समर्थन गर्नुपर्छ नभए रक्सौल पारी गए हुन्छ भन्ने कट्टर पञ्च हुन् तुलसी गिरी । राजाको प्रत्यक्ष शासनमा मात्र नेपालको भलो हुन्छ भन्ने उनको विश्वासमा सायद बाँचुन्जेल कायम रहे । पञ्चायतका अरू प्रधानमन्त्रीहरू उनका सामु ‘पुड्का’ देखिन्थे । सूर्यबहादुर थााप पञ्चायतमा पनि धेरैपटक प्रधानमन्त्री भए तर पञ्चहरूको श्रद्धाका पात्र भने बन्न सकेनन् । गिरी व्यक्तिगत जीवन रसिक रहेको उनी, सुरा र सुन्दरीका पारखी रहेका अनेकौं किस्सा सुने र सुनाउनेहरू अझै धेरै नै छन् । तर यी प्रत्युत्पन्न मतिका र हठी राजनीतिज्ञलाई भ्रष्टाचारको आरोप लागेको भने सुनिएन । 

लोकतन्त्रविरुद्ध बीपी कोइराला र देशलाई दिएको धोकाका लागि भने डा. तुलसी गिरीलाई इतिहासले क्षमा गर्दैन । बेलायतको संसद्ले पुरुषलाई नारी बनाउन सक्तैन तर नेपालका राजाले सक्छन् भन्ने आत्मविश्वास नेपालमा अरू राजनीतिज्ञमा बरिलै भेटिएला !   


 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १३:२६
प्रतिक्रिया दिनुहोस्