site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
मेरो सम्झनामा भोला 

रामेछापको सुन्दर गाँउ, पहाड र हिमालको संगम, राजनीतिक चेतना भएको परिवार । पञ्चायतले सबैतिर गाँजेर राजनीतिक चेतना बन्धक बनाएको बेला । म २०२४ सालको कुरा गर्दैछु । यही वर्षमा दाहाल परिवारमा जन्मिएको हो भोला अर्थात् भोलाप्रसाद दाहाल (पीएचडी) । चौथो सन्तानको रुपमा जन्मिएको भोला सानैदेखि प्रखर रहेको लाग्छ मलाई र मैले सुनेको पनि त्यही हो । एक पटक प्रसङ्गबस भोलाले भनेथ्यो कसरी करिब छ वर्षको ऊ र दाइ बेसीको गोठमा त्यो पनि बाघ लाग्ने जंगलको आसपास भएर पढ्ने र खेत रुग्ने काम गर्थे ! त्यति बेलै बाघसँग जम्का भेट गर्न बाध्य भोला पछि कसैसँग डराएको देखिन मैले । सधैँ प्रखर, सधैँ केही गर्न तत्पर ।

म नेपाल बाल संगठनमा कार्यरत रहँदा भोला सेभ द चिल्ड्रेन नर्वेमा काम गथ्र्यो । त्यही बेला देखि चिनेको हुँ मैले । करिब ०५४/०५५ साल तिरको कुरा हुनुपर्छ । पछि म केन्द्रीय बाल कल्याण समितिमा गएपछि हाम्रो सम्बन्ध कामको सम्बन्ध भयो । भोलाका लागि काम नै सबै थोक थियो त्यस बेला  र  अन्तिमसम्म पनि । सरकारले बाल अधिकार महासन्धि अनुमोदन गरेपछि त्यसलाई लागुगर्न ऐन पनि बनायो । त्यसैमा बन्यो बाल कल्याण समितको संरचना पनि, २०४९ सालमै । तर त्यस संरचनालाई कार्यान्वयन गर्ने जमर्को भने सरकारले गरेन । भोला कार्यरत सेभ द चिल्ड्रेन सुरुदेखि नै त्यो संयन्त्र क्रियाशील गराउन लागि परेको थियो र भोला त्यस सबालमा सबैभन्दा अगाडि । विसं २०५८ को अन्त्यतिर आएर बल्ल यस संयन्त्रलाई क्रियाशील पार्न सरकारले कार्यकारी निर्देशक नियुक्त गर्यो र सुरु भयो मेरो र भोलाको  व्यावसायिक सहयात्रा ।

\"\"

Argakhachi Cement Island Ad

देशका २८ जिल्ला बाल कल्याण समितिमा बाल संरक्षण अधिकृतहरुको नियुक्ति, ती जिल्लाहरुमा  कार्यक्रम तथा केन्द्रीय कार्यलयको संस्थागत सुदृढीकरणका  सुरुका  कार्यहरु सेभसँगकै सहकार्यमा भएका थिए, त्यसको अग्रपंक्तिमा थियो भोला । माओवादीले सशस्त्र संघर्ष गरिरहेको त्यस समयमा बालबालिका अत्यन्त असुरक्षित थिए ।  बालबालिका बाल सैनिकमा भर्ना भएका, विद्यालय जानबाट वञ्चित भएका, विद्यालयबाटै अपहरणमा परेका र युद्धको मानसिक तापले संतप्त भएका कुरा बाहिर आइरहेका थिए । यसै समयमा बाल कल्याण समिति र सेभ द चिल्ड्रेन मिलेर बाल संरक्षण कार्यक्रम सुरु गरियो । तत्कालिन जिल्ला तथा गाउँ विकास समतिहरुमा बाल संरक्षण समितिहरु गठन मात्र भए र निकै क्रियाशील समेत भए । दाङको एउटा गाँउमा द्वन्द्व उत्कर्षको बेला कार्यक्रम अनुगमन गर्न जाँदा माओवादीले चिनेर घेरा हालेपछि भोलाकै चातुर्यका कारण सकुशल फिर्न सकिएको थियो ।

बाल संरक्षण नीतिको विकास त्यसै बेला भएको हो । बाल कल्याण समितिमा मेरो पाँच वर्षे कार्यकाल सकिएपछि हाम्रो कामकाजी सम्बन्ध बिस्तारै मित्रतामा परिणत भयो र हामीले धेरै व्यावसायिक तथा व्यक्तिगत सहकार्य गर्यौँ । मेरा थोरै मीत्रहरुको घेरामा भोला थियो र पछिल्ला चार पाँच वर्ष त हामी यति नजिक थियौँ कि हामीबीच कुनै कुरा सायदै लुकेको थियो होला !   

फूलपातीको दिन बिहान ४ : २२ बाट आउन थालेको फोन मैले करिब ६ बजेमात्र उठाउन सकेँ । त्यही बेला मैले मेरो जीवनको सबैभन्दा नजिकको मित्र यस संसारबाट बिदा भएको खबर सुन्नु पर्यो । कसरी पत्याउने त्यो सूचना ! सधैँ केही न केही गर्न तत्पर, काम गरेर कहिल्यै नथाक्ने र कसरी राम्रो गर्न सकिन्छ भनेर तल्लीन रहने मेरो साथी अब यी लौकिक कामहरु नगर्ने बाटोमा गइसक्यो भनेर । रेडक्रसका विषयहरु हुन् वा बालबालिकाका, सुशासनका विषय हुन् वा शिक्षाका, सूचना सम्बन्धी काम होस् कि लैगिंक सबाल भोला सधैँ तयार र सुसज्ज्ति रहन्थ्यो । साथी र सम्पर्कको यत्रो ठूलो सञ्जाल थियो उसको कि कुनै पनि काम कहीँ पनि नरोकिने ।

पहिलो पटकको अमेरिका यात्रा, सिंहदरवार नामक  जनचेतनामूलक टेली शृंखलाको हलिउडमा प्रदर्शन र स्रोत जुटाउने अभियानमा लस एञ्जेलस पुगेको भोला यात्राको थकान समेतलाई वास्ता नगरी काममै जुटेको थियो । आइतबार, अक्टोबर १४ २०१८, अपरान्ह ४ बजे (लस एञ्जेलस समय) म आज बेलुकाको खाना पनि खान आउँदिन, केही काम गर्नुछ भनेर होटेलको कोठामा छिरेको एकै पटक सोमबार १३ः४५ बजेतिर मात्र ओछ्यानमा मृत अवस्थामा भेटिएको जानकारी छ । कसरी हामी सबैलाई र आँफैलाई पनि छलेर यसरी जान सकेको ? समय र मृत्युको महिमा यति बलवान र मान्छेको नियति यति कमजोर नै हो त?  

पछिल्ला दिनहरुमा हामी कसरी खुसी रहने, जीवनलाई कसरी पूर्णतातिर लैजाने र कसरी कम्तीमा हामी जस्तै अर्को एकजनाको जीवनमा आशा र विश्वास दिलाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुन प्रयत्न गर्दै थियौँ । विभिन्न व्यावसायिक तथा व्यक्तिगत विषयमा हामी अझ बढी जोडिँदै थियौँ र सामाजिक विकाससँगसँगै आर्थिक विकासले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभावलाई अनुभूत गर्दै यस्ता काममा लाग्न जुट्दै थियौँ । शिवपुरी डाँडाको यात्रा होस् वा अगेँनो नामक रेस्टुराँमा बिताएका क्षण हुन् ती सबै अब स्मृतिमा मात्र रहनेछन् । थाहा छैन मृत्युपछिको जीवन के हुन्छ तर म यहाँ रहुन्जेल सम्झना त पक्कै रहिरहनेछ, मेटिनेछैन । केही गर्न लागिरहने, साथीभाइलाई पनि सँगै तान्ने र जोड्ने अनि निराशालाई कहिल्यै ठाँउ नदिने मेरो मित्र बिदा ! 
शाश्वत सत्य यदी मृत्यु हो भने,
उसैको अधीनमा जीवन छ भने,
उसको विधान कसैलाई थाहा छैन भने,
जीवन गति उसैको खटनमा चल्छ भने,

उसले चाँहदा जीवन सकिने
चाहना उसको केमा स्थित छ ?
छ कुनै विधि विधान उसको नीतिको ?
जान्ने बुझ्ने छैन अधिकार उपाय भने;

चाहना अमरताको होइन
न त इच्छा हो जान्ने मृत्यु तिथि
चाहना त फगत यत्ति हो हे मृत्यु
तेरो विधानको रीति के हो ?
जाने यति म तेरो आगमन 
मृत्यु उत्सव गरी मनाउने थिएँ 
र गर्ने थिएँ तेरो जय जयकार !

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०९:०७
प्रतिक्रिया दिनुहोस्