site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
जनता सधैँ लाचार भइरहनुपर्ने ? 

अलि पहिलाको कुरा हो पूर्वतिर जानु थियो । सुविधाजनक सेवा भनेकाले छानेरै बसमा चढियो । बीचबाटामा पुगेपछि कुखुराको दानाका बोराहरु खलाँसीले बसभित्र हाले । बसमा बसिनसक्नु गनाउन थाल्यो । मलाई दुर्गन्धको एलर्जी भएकाले लगातार हाछ्युँ आउन थाल्यो । खलाँसीलाई यी बोरा गाडीको छतमा हाल्न अनुरोध गरेँ धेरै पटक तर टेर्दै टेरेनन् । बस्नै नस्क्ने अवस्था भएपछि झगडा नै गर्नुपर्यो । करिब एक घन्टाजतिक गलफत्ती भयो तर गाडीमा सवार अन्य कसेले एक शब्द बोलेनन् । गनाउन चाहिँ सबैलाई गनाएकै हुनुपर्छ । म बोलेँ अरु बोल्न चाहेनन् । चाडपर्वका बेलामा कति ठगिन्छन र पीडित हुन्छन् भनी साध्य छैन । क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएर ज्यानै गएका कति उदाहरण छन् कति !  

गाडीमा सेवा सुविधा कहिल्यै नबढाउने तर भाडा चाँहि बढाइरहने, पचासौं व्यक्ति सवार हुने साधनमा दक्ष चालक कहिल्यै नराख्ने तर मान्छे कोच्न कहिल्यै नछोड्ने, गाडीमा सवार यात्रुलाई मीठो वचनसम्म कहिल्यै नबोल्ने तर बाटो हिँड्ने सबै मान्छे तिनकै गाडीमा चढुन् भनेर बाटोमा कोही उभिएको देख्यो कि जाने हो भनेर ठाँउ कुठाँउ गाडी रोक्नेलगायत समस्यै समस्या छन् हाम्रो सार्वजनिक सवारी प्रणालीमा । सिकारु चालक राखेर पैसा कमाउनेमात्र ध्याउन्ना साथ बाटोमा गाडी गुडाउँदा कति मान्छेको ज्यान गएको छ ? स्कूल जाँदै गरेका बालबालिका बाटामै मरेका छन् भने कति अङ्गभङ्ग भै पीडादायी जीवन बाँच्न बाध्य छन् । क्षतिपूर्ति र उपचार गराउनुपर्छ भनेर सुण्डमुण्ड पालेर सिन्डिकेटका आडमा जे गरे पनि हुन्छ भन्ने व्यवहार भइरहेको छ । सेवा सुविधासहित अरु कसैले गाडी चलाउन खोजे तिनै सुण्डमुण्ड तोडफोड र कुटपिट गर्न आउँछन् । न यात्रा सहज छ, न सुविधाजनक न त सुरक्षित नै । 

Argakhachi Cement Island Ad

यस्तो अवस्थामा पनि जनताको प्रतिनिधि सरकार र यसको संयन्त्र दोष जति अरुलाई दिएर केही गर्दैनन् । कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै, मान्छे मारेको देख्दादेख्दै ज्यानमारा खुलेआम हिँड्छ, सरकारी संयन्त्र बहाना बनाएर निरीह बनिदिन्छ । 

यस्तो हुँदाहुँदै अर्बौं लगानी भएकाले हामीले यसो गरिरहन पाउनुपर्छ भन्ने मूढाग्रह गरिन्छ । मान्छेको ज्यान र असुविस्ताभन्दा कसैको लगानी ठूलो हो र ? नयाँ कहिल्यै आउन नदिएपछि अरुको लगानी हुनै पाउँदैन । अनि यिनैलाई थप लुट्ने मौका दिन पनि बैंकले ऋण थपी रहन्छन् । यिन्को लगानी त बढी रहन्छ । त्यसो भए यिनले जे पनि गर्ने सधैँ छुट पाइरहने ? यी त राज्य र जनताभन्दा पनि बलिया हुने भए । 

यसैको आर्को पाटो तिनका बसमा चढ्ने यात्रुको पैसाबाट नै यिनले यत्रो पूmर्ति गर्ने हुन् । यात्रुको भनाइ चाँहि यिनले र अरु कसैले सुन्नु पर्दैन ? यातायातकै चक्रमा मूल पक्ष यात्रु चाँहि सधैँ गौण किन हुनुपर्ने ? जनता सधैँ लाचार भइरहनुपर्ने ? 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०७५  ०९:२४
प्रतिक्रिया दिनुहोस्