site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
बहिनीहरूलाई स्यानिटरी प्याड
Argakhachi Cement Island Ad

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हामी सात जना साथी मिलेर अलि फरक तरिकाले काम गरौंँ भनेर छलफल गर्यौँ ।  त्यो छलफलको निष्कर्ष चाँहि काठमाडौंका सरकारी विद्यालयमा अध्ययनरत  बहिनीहरुलाई स्यानिटरी प्याड वितरण गर्ने भन्ने निस्क्यो ।  हामी सबै मिलेर त्यो स्कुल हेर्न गयौं र त्यहाँका शिक्षकसँग भेटेर हाम्रो प्रस्ताव राख्यौंँ ।  खुसी भएर उहाँले  हाम्रो प्रस्ताव स्वीकार गर्नुभयो । 
शिक्षकसँगको कुराकानीबाट हामीले के थाहा पायौंँ भने त्यहाँ पढ्न आउने अधिकांश विद्यार्थीहरु घरेलु कामदार र अनौपचारिक क्षेत्रमा सानातिना काम गरेर  जेनतेन जीविका  चलाउने परिवारका रहेछन् । यो सुन्दा हामीलाई उनीहरूलाई सहयोग गर्न झन् मन लाग्यो । हामी सात जनाले गच्छेअनुसार पैसा जम्मा गरेर स्यानिटरी प्याड किन्यौ र  कक्षा पाँचदेखि नौसम्मका  छात्राहरुलाइ वितरण गर्यौँ । दस कक्षाका विद्यार्थीहरु एसईई परीक्षामा सम्मिलित भएका कारण उनीहरुलाई यसमा सम्मिलित गराउन पाएनौ । 
प्याड वितरण गर्ने क्रममा बहिनीहरुसँग महिनावारिका बारेमा कुरा गर्न खोज्दा अधिकांशले लाज मानेर कुरै गर्न चाहेनन् ।  हामीले  उनीहरुलाई महीनावारी महिलाको जीवनसँगसँगै आउने स्वभाविक  प्रक्रिया हो र यो पाप, घीन वा लाजको विषय होइन भनेर बुझाउने प्रयास गर्यौँ ।  कुराकानी सहज हुँदै गएपछि कतिपयले आर्थिक अभावका कारण महिनावारी हुँदा पुराना कपडा प्रयोग गर्ने बताए । त्यसो गर्नु स्वस्थकर हुँदैन ।
ती विद्यार्थी बहिनीहरूसँगको कुराकानीपछि हामीलाई यो एक दिन समस्याको मात्र हैन नभएर लामो समयसम्म काम गर्नुपर्ने विषय हो भन्ने लाग्यो । लगत्तै हामी सातै जना फेरि बस्यौँ । यो समस्या त महिलामा हरेक महिना आउने भएकाले यसमा लामो समय काम गर्नुपर्ने देखियो । 
काम गर्न पैसा चाहिन्छ । सार्वजनिक रुपमा पैसा संकलन गर्न संस्थागत व्यवस्था हुनुपर्छ  र सोका लागि समय चाहिन्छ । संस्थागत व्यवस्था नहुन्जेलसम्म समस्याले पर्खेर त बस्दैन ।  त्यसैले हामीले  संस्थागत व्यवस्था नहुन्जे हामी आआफैँबाट स्रोत संकलन गरेर पनि कामलाई निरन्तरता दिने निर्णय गर्र्यौं । नागरिक आवाजले पहियों सहयोग दिएर हामीलाई हौसला दिएको छ ।  अनि हामीले फेसबुक पेज पनि बनायौँ । त्यसमा हामीले गरेका कामहरु प्रस्तुत गरेका छौँं ।  यो देखेर  साथीहरु, इष्टमित्रहरुले कामको प्रशंसा गर्दै सहयोग गर्ने इच्छा देखाउनु भएको छ  ।  बहिनीहरुको मुखमा देखिएको खुसी, सहयोगीहरुको साथ दिने प्रतिबद्धताले हामी थप उत्साहित भएका छौंँ र संस्थागतरूपमै अगाडि बढ्ने निर्णय गरेका छौं । 
महिला शिक्षित हुनुपर्छ भन्ने  कुरामा त सबै सजग नै छन् तर महिला स्वस्थ भए परिवारलाई नै स्वस्थ राख्न सक्छिन् भन्ने विषयमा ध्यानाकर्षण गर्ने हाम्रो उद्देश्य हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  १६:२४
प्रतिक्रिया दिनुहोस्