
काठमाडौं । सभामुखसहित दलका प्रमुख सचेतकको बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित गरेर बैठक बसिएको थियो । सत्तापक्ष र विपक्ष आ–आफ्नै अडानमा छन् । अर्को बैठक दिउँसो २ः३० बजे बस्नेगरी संसद् सचिवालयले सूचना जारी गरेको छ ।
विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान निष्पक्ष बनाउनका लागि राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोगको माग राखेका छन् ।
सत्तापक्षले भने गृहमन्त्रीले जवाफ दिने र सदनको कारबाही अघि बढाउने कुरामा सहमति जुटाउन प्रतिपक्षलाई आग्रह गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीले जवाफ दिएर सदनको कारबाही अघि बढाउन प्रतिपक्षलाई आग्रह गरिएको बताए । “गृहमन्त्रीज्यूले जवाफ दिने र सदन अघि बढाउन आग्रह गरिएको छ । उहाँहरू (विपक्षी दल)ले छलफल गर्ने बताउनुभएको छ । फेरि बैठक बसेर सदन चलाउने निर्णयमा पुग्छौँ,” उनले बाह्रखरीसँग भने ।
तर, विपक्षीले भने गृहमन्त्रीको जवाफ मान्य नहुने बताएको छ । रास्वपा सांसद मनीष झाले आफूहरूको अडान कायम रहेको बताए । गृहमन्त्रीले अनुसन्धानमा सहजीकरणका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । उच्चस्तरीय आयोग गठन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको समेत बताए ।