
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय अभ्यासमा आफू अनुभवी भइसकेको जिकिर गरेको छ । सोमबार (जेठ १२) सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग सांसद मनिष झाले आफूहरू संसदीय अभ्यासमा अनुभवी भइसकेको बताएका हुन् ।
“हामी अब सदनमा अनुभवी भइसकेका छौँ,” उनले भने, “पहिला प्लान गर्दथ्यौँ । अब हामी रियलाइज गर्ने अवस्थामा पुगिसक्यौँ ।”
उनले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा संलग्न भनेर सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा त्यसबारेमा छलफल भएको बताए । “गृहमन्त्रीज्यूको भिजिट भिसाको प्रकरणमा संलग्नता र आज विभिन्न दलहरूले गरेको बैठक, त्यसबाट आएको अभिमत, राजनीतिक स्टेटमेन्टहरू आएको छ, त्यसको बारेमा हाम्रो रणनीति के हुन्छ, त्यसको बारेमा आवश्यक छलफल गरेका छौँ,” उनले भने ।
त्यसबारे सांसदहरूले बैठकमा आफ्ना धारणा राखेका र नेताहरूले रणनीति बनाउने काम गरिरहेका उनले उल्लेख गरे । “विगतमा कुनै पनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरू वर्तमान गृहमन्त्रीज्यूले लगभग एक वर्षअघि सदनमा प्रस्तुत गर्नुभएको थियो,” उनले भने, “हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहन्छौँ ।”
सांसद झाले आफूहरूले प्रश्न सोध्न पाउनुपर्ने बताए । सोध्दै नसोधेको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने उनको भनाइ थियो ।
संसद् बैठकमा गृहमन्त्री लेखकलाई जवाफ दिएर ‘लुसुक्क हिँड्ने काम गर्न नदिने’ उनले उल्लेख गरे । “हामीले प्रश्न नै सोध्न नपाईकन उहाँले जवाफ दिएर लुसुक्क हिँड्ने त्योचाहिँ हामी हुन दिँदैनौँ,” उनले भने ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट गृहमन्त्रीलाई आरोपका विषयमा ‘क्लिन चिट’ दिन नमिल्ने उनले तर्क गरे । न्युज एजेन्सी नेपाल