
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ ।
नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।
नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौं हवाई सेवा पुनः सञ्चालन भएको हो ।
प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको हो ।
यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउन्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।
नेपाल एयरलाइन्स फाप्लुका स्टेसन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो ।
पर्यटकीय जिल्लामा पुनः चालु भएको उडानबाट पर्यटन व्यवसायी उत्साहित बनेका छन् । रासस