
काठमाडौं । हालै भारतको पश्चिमी सीमामा भएको सैन्य द्वन्द्वपछि पनि भारतको प्राथमिक शत्रु चीन र पाकिस्तान सुरक्षा समस्या मात्र भएको अमेरिकाको डिफेन्स इन्टिेलिजेन्स एजेन्सी (डीआईए)ले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ ।
पाकिस्तानले भने भारतलाई उसको अस्तित्वको लागि खतरा मान्दै भारतको परम्परागत सैन्य श्रेष्ठतालाई कमजोर पार्न आणविक हतियार विकास गर्नेलगायत सैन्य आधुनिकीकरण अभियान जारी राख्न चाहेको उक्त अमेरिकी प्रतिवेदनमा उल्लेख भएको भारतको डेकन हेराल्ड अखबारले उल्लेख गरेको छ ।
कश्मीरको पहलगाममा सर्वसाधरणको हत्या र त्यसपछि भारत–पाकिस्तानबीच भएको द्वन्द्वलाई उल्लेख गर्दै प्रतिवेदनले जम्मू कश्मीरमा अप्रिलमा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा आतंकवादीहरूको पूर्वाधार सुविधामा मिसाइल हमला गरेको बताएको छ ।
“मे ७ देखि १० को बीचमा दुबै देशहरूबीच धेरै पटक मिसाइल, ड्रोन र लोइटरिङ म्युनिसन हमला तथा भारी गोलाबारी आक्रमणहरू भएका थिए । मे १० सम्ममा दुवै पक्षले पूर्णयुद्धविराम मान्ने सहमति जनाए,” अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रक्षा प्राथमिकतामा विश्वव्यापीरुपमा नेतृत्व प्रवर्द्धन गर्ने, चीनलाई प्रतिरोध गर्ने र भारतको सैन्य शक्ति बढाउने कार्यक्रमहरूमा केन्द्रित हुने बताएको छ । भारतले आफ्नो घरेलु रक्षा उद्योगलाई सशक्त बनाउन र आपूर्ति श्रृंखलाको चिन्ता कम गर्न यो वर्ष मेड इन इन्डिया अभियानलाई अझ अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी तल्लो सदन कंग्रेसमा हालै पेस गरिएको यो प्रतिवेदन प्रकाशित हुँदै गर्दा भारतीय सेनाका प्रमुख जनरल अनिल चौहानले आइतबार सेनाका उत्तरी र पश्चिमी कमान्डहरूको भ्रमण गरे । भ्रमणका क्रममा कमान्डरहरूले पश्चिमी मोर्चामा सेनाको तयारीबारे विस्तृत जानकारी दिएका छन् ।
भारतका शीर्ष जनरलको यी दुई प्रमुख सैन्य इकाईहरूमा भ्रमण सेनाको तयारीको निरन्तर समीक्षाको अंश हो । किनभने पाकिस्तान र भारत दुवैले पश्चिमी मोर्चामा आफ्नो सतर्कता कम गरेका छैनन् । तर, गोली हान बन्द भएको छ ।
चिनियाँ चुनौतीबारे अमेरिकी प्रतिवेदनले भनेको छ, “सन् २०२४ को अक्टोबरमा भएको सेनाको चीनसँगको ‘डिसइनगेजमेन्ट’ले सीमा सीमांकनको दीर्घकालीन विवाद समाधान गरेन । तर, सन् २०२० मा कश्मीरको नियन्त्रण रेखामा दुवै पक्षका सैनिकहरूको मृत्यु भएको घटनापछि बाँकी रहेको तनाव केही कम गर्यो ।”
“चीनको प्रभावलाई प्रतिरोध गर्न र आफ्नो विश्वव्यापी नेतृत्वदायी भूमिका बढाउन, भारतले हिन्द महासागर क्षेत्रमा द्विपक्षीय रक्षा साझेदारीहरू अभ्यास, प्रशिक्षण, हतियार बिक्री र सूचना साझेदारीमार्फत बढाउन प्राथमिकता दिँदै छ । भारतले इन्डो–प्यासिफिक क्षेत्रमा त्रिपक्षीय सहयोग पनि बढाएको छ,” यसमा भनिएको छ । डेकन हेराल्ड