site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट

बेइजिङ । पूर्वी चीनको एक रासायनिक कारखानामा मंगलबार (मे २७) भएको विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

चीनको समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीका अनुसार, राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वस्थित शान्दोङ प्रान्तको गाओमी सहरमा रहेको युदाओ केमिकल प्लान्टमा स्थानीय समयानुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।

Argakhachi Cement Island Ad

बेइजिङबाट प्रकाशित पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारित भिडियोमा आकाशमा धुलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ ।

भिडियो क्लिपमा सडकछेउछाउ भग्नावशेष छरिएको, झ्यालहरू फुटेको, कार र पृष्ठभूमिमा रहेका घर तथा भवनलाई प्रभावित पार्ने खालको सुन्तला रङको ठूलो आगोको लप्का पनि देखाइएको छ ।
 
राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपत्कालीन सेवाका निम्ति ५५ सवारीसाधन र २३२ पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाइएको उल्लेख छ ।

चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार, ४७ हेक्टर (११६ एकड)को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशक उत्पादन गर्छ । यहाँ करिब ३०० मानिसले काम गर्छन् ।

यसअघि, सन् २०१५ मा बन्दरगाह सहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायनको गोदाममा विस्फोट हुँदा १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । ७०० जना घाइते भएका थिए । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्