
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थ भट्टराई विमानस्थलबाट गृह मन्त्रालय तानिएको एकदिन पछि नै अख्तियारको नियन्त्रणमा परे । अख्तियारले भट्टराईकै मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुबाट मोटो आर्थिक लाभ लिएर पठाउने गरेको ‘क्लु’ फेला पारेपछि नियन्त्रणमा लिएको दाबी गरेको छ ।
गृह मन्त्रालयलेसमेत भट्टराईको भूमिका शंकास्पद देखिएपछि गएको मंगलबार विमानस्थलबाट तानेर गृहमा ल्याएको दाबी गरेको छ । त्यसको एक दिनपछि नै अख्तियारले बुधबार भट्टराईलाई नियन्त्रणमै लिएर सोधपुछ गरेको हो ।
हाल उनी अख्तियारको थुना बाहिर रहे पनि उनीमाथिको अनुसन्धान जारी राखेको छ । बुधबार नै अख्तियारले अध्यागमन कार्यालय विमानस्थलमा समेत छापा मारेको थियो । केही कागजातसमेत अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियारले भट्टराईसहित गृह मन्त्रालयमै कार्यरत केही अधिकृतहरुको भूमिका माथिसमेत अनुसन्धान गरिरहेको छ ।
भट्टराईसहित अध्यागमनकै अन्य कर्मचारी, म्यानपावर व्यवसायी, ट्राभल एजेन्सीसित मिलेर मोटो रकम लिएर खाडी मुलुकहरुमा महिलालाई भिजिट भिसामा पठाउने गरेको अनुसन्धानमा देखिएको छ ।
खाडी मुलुकमा भिजिट भिसामा सामान्य महिलाहरुलाई पठाउने र त्यहाँ लुकेर काम गर्दा खोज्दा महिला मानसिक तथा शारीरिक रुपमा शोषणमा पर्दै आएका छन् । अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा जानेहरुबाट रकम असुलेर पठाउने गरेको घटना उजागर भएको यो पहिलो पटक भने होइन ।
यसअघि भिजिट भिसामा जानेहरुबाट ठूलो रकम लिने गरेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपरेशन नै चलाएको थियो । सोही अपरेशनमा विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का विचौलियाबाट रकम लिँदालिँदै पक्राउसमेत परेका थिए ।
कार्यालयको वैदेशिक ठगीबारे अनुसन्धान गर्ने पिलरले खड्कालाई रकमसहित पक्राउ गरेको थियो । पछि अनुसन्धान गर्दै जाँदा खड्कामात्रै नभएर विमानस्थल अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा जानेहरुबाट रकम असुली गर्ने गरेको खुलेको थियो ।
अनुसन्धानका क्रममा अधिकृतहरु शैलेन्द्र ढकाल, विमल पौडेल, ताराबहादुर कुँवर, सुजन फागोसहितका कर्मचारीकोसमेत मिलेमतो देखिएपछि उनीहरुमाथिसमेत मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय पठाएको थियो ।
केहीलाई सरकारी वकिल कार्यालयबाट नै मुद्दाका लागि प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरिएको थियो । मुद्दा चलाइएका ताराबहादुर कुँवर, नरवीर खड्कालगायतले समेत पछि सफाइ पाएका थिए ।
त्यो बेला उनीहरुले कोड भाषा नै प्रयोग गरेर भिजिट भिसामा जानेहरुलाई अध्यागमन कार्यालयले नरोकी पठाउने गरेको त्यो बेला अनुसन्धान गरेका कार्यालयका डीएसपी हाल (अवकाश प्राप्त) गोविन्द पन्थी बताउँछन् ।
उनी भन्छन्,‘‘त्यही बेला नै प्रहरीलाई आफ्नो ढंगले अनुसन्धान गर्न दिइएन । प्रहरीले पक्राउ गरेकाहरुमाथि समेत अनुसन्धान गर्दा दबाब दिइयो । त्यसको जरो अध्यागमनदेखि गृह र प्रधानमन्त्री कार्यालयसम्मै जोडिन्थ्यो ।’’
त्यही बेला प्रहरीले मुद्दा चलाइएका विमल पौडेल नै गृहमन्त्रीको निजी सचिवालयमा रहेको खुलेपछि गृहमन्त्री कै भूमिकामाथि नै प्रश्न उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले राजीनामा नै दिनुपर्ने माग राखेको छ । नेपाली कांग्रेसभित्र पनि गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठ्न थालेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।
यद्यपी गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबारमात्रै एक विज्ञप्ति जारी गर्दै भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको नेतृत्वमाथि बिनाप्रमाण कपोलकल्पित रुपमा आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।
मानव तस्करी गर्ने गिरोहसितको मिलेमतो देखिएपछि हाल अध्यागमन विभागका अन्य आठजना कर्मचारीसमेत तानिएका छन् । तानिएका कर्मचारीहरुमा कम्युटर अपरेटरदेखि नायव सुब्बासम्मका छन् ।
गृहमन्त्री रमेश लेखकका निजी सचिवालयका एक अधिकारीले विमानस्थाल अध्यागमन कार्यालयका प्रमुखलाई कारबाहीस्वरुप नै गृह मन्त्रालयमा तानिएको र त्यसमा गृह मन्त्रीलाई जोड्नु अन्याय हुने बताए ।
तर, गृह मन्त्रालय मातहकै अध्यागमन विभागका प्रमुख तथा सचिवालयकै कर्मचारीसमेत सोही अभियोगमा मुद्दा खेपिसकेको पाइएपछि मन्त्री लेखकमाथि समेत प्रश्न उठेको हो । शनिबारमात्रै मन्त्री लेखकले गृह मन्त्रालको एक भेटघाट कार्यक्रममा भिजिट भिसाबारेमात्रै होइन अन्य कुनै पनि विषयमा छानबिन गर्न र दोषी देखिए गृहमन्त्री मात्रै होइन राजनीतिबाट नै अलग हुने दलिल पेस गरेका छन् ।
डीएफएल रिपोर्ट पर्खिँदै अख्तियार
अख्तियारको नियन्त्रणमा परेका तत्कालीन अध्यागमन प्रमुख भट्टराईबारे अख्तियारले विस्तृतरुपमा अनुसन्धान गर्न भने बाँकी छ । तर, भट्टराईसहितको मिलेमतोमा भिजिट भिसामा जानेहरुबाट दैनिक ५० लाख रुपैयाँसम्म असुल गर्ने गरेको आरोप लागेको छ ।
अख्तियारले विमानस्थलको अध्यागमन कार्यालयबाहेक केही म्यानपावर र शंकास्पद भूमिकारहेका व्यक्तिको घरमासमेत छापा मारेको छ । अख्तियारको अनुसन्धानमा परेका भट्टराईसहित चारजनाको मोबाइल नियन्त्रणमा लिएर प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ ।
डीएफलको रिपोर्ट आउन भने कम्तिमा एकहप्ता लाग्ने प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । अख्तियारले सरकारी कर्मचारीहरुबाट हुने भ्रष्टाचार कसुरजन्य गतिविधिबारे मात्रै अनुसन्धान गर्ने गर्छ । तर, मानवतस्करी बारेको अनुसन्धानको अधिकार भने प्रहरीसित हुन्छ ।
तर, मानवतस्करीबारे अनुसन्धानका लागि भने अख्तियारले प्रहरीलाई कुनै पत्राचार गरेको छैन । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले अख्तियारबाट वा अन्य कुनै निकायबाट भिजिट भिसाको नाममा हुने मानव तस्करीबारे अनुसन्धान गर्न पत्राचार नभएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले भिजिट भिसा प्रकरणबारे अख्तियार अनुसन्धानकै चरणमा रहेको बताए । उनले भने,‘‘हामी अनुसन्धानकै चरणमा छौं । आरोपितहरुबारे विभिन्न विधिबाट अनुसन्धान हुँदैन । अहिले धेरैकुरा भन्न मिल्दैन । पछि अनुसन्धानका क्रममा खुलेपछि हामी सोहीअनुसार गछौँ ।’’
ललितपुर प्रहरीका अनुुसार अख्तियारको टोलीले बिहीबार मात्रै ललितपुर लुभुस्थित कविता पौडेलको घरमासमेत छापा मारेको थियो । पौडेलको मोबाइलसमेत अख्तियारले नियन्त्रणमा लिएको छ ।
गृह मन्त्रालयले नै कुनै पनि देशमा भिजिट भिसामा जान वार्षिक पाँच लाख रुपैयाँ करयोग्य आम्दानी हुनुपर्ने, कक्षा १२ पासको मार्कसिटदेखि विदेशमा रहेका आफन्त वा अन्य व्यक्तिको आमन्त्रणपत्र हुनुपर्ने व्यवस्था गरेको छ ।
तर, पछिल्लो समय खाडी मुलुकमा भिजिट भिसामा सेटिङका भरमा कुनै प्रक्रिया पूरा नगरी पठाउने गरेको पाइएको छ ।