
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए ।
यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
“विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्छ,” उनले भने ।
उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संसोधन आवश्यक भएको बताए ।
सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे । “प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्छ,” उनले भने ।
त्यस्तै, सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दसैँ आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए ।