
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले संसद्मा काम गर्ने मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद लामाले सदन सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मर्यादापालक बिहान ७ बजेदेखि बेलुकासम्म सांसदको सुरक्षाका लागि बस्ने गरे पनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको बताइन् ।
"यहाँ उभिरहनुभएका मर्यादापालकहरूको समस्या सुनुवाइ गरोस् । सदन सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मर्यादापालक बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनुहुन्छ । तर, उहाँहरू न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ," उनले भनिन् ।
उनले आन्दोलन नगरी सुरक्षा दिइरहनुभएका उहाँलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराए ।