site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि र छविका निवेदन सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।
 
सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परिसकेका निवेदनमा आइतबार हेर्न मिल्ने इजलासमा राखेर सुनुवाइको व्यवस्था मिलाउन आदेश भएको थियो । न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा राखेर सुनुवाइ अघि बढाउने आदेश गरेपछि सर्वोच्चले ‘हेर्न नमिल्ने’ भइसकेका न्यायाधीशबाहेकलाई गोला प्रणालीमा सहभागी गराएको थियो । 

सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । तर, मिसिल हेर्दा पाण्डेका आफन्त वकिल भेटिएपछि पुनः हेर्न नमिल्नेमा परेको थियो । 

सुप्रिम सहकारी ठगीबारे उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध रवि र छवि दुवैले ७३ नम्बर निवेदन हालेका छन् । यस्तै, रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले अघिल्लो हप्ताको मंगलबार नै बन्दीप्रत्यक्षीकरणको निवेदन हालेकी थिइन् । तर, उक्त निवेदनमा गत हप्ताभर नै पालो नआएर आइतबार पनि ‘हेर्न नमिल्ने’ इजलासमा परेपछि हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने गरी प्रक्रिया अघि बढाउने आदेश भएको हो । 

बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले लगाउमा राख्ने आदेशपछि दुवै निवेदन एकसाथ राखिएको छ । आइतबार न्यायाधीश डा. मनोकुमार शर्मा र सुनिलकुमार पोखरेलेको इजलासमा परेको छ । 

अघिल्लो आइतबारदेखि नै ‘हेर्न नमिल्ने’मा पर्दै सुनुवाइ सरिरहेको छ । आइतबार पनि पुनः हेर्न नमिल्ने इजलासमै परेको हो । न्यायाधीशद्वय शर्मा र पोखरेलमध्ये पोखरेलले न्यायाधीश नियुक्त हुनुअघि रविको नागरिकता र राहदानी मुद्दामा वकालत गरेका थिए । त्यही कारण यसअघि पनि उनको इजलासमा ‘हेर्न नमिल्ने’मा परेको थियो ।
 
सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका रवि उच्च अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । 

सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्