
काठमाडौं । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
“काठमाडौंमा अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् विनु महर्जनले बाह्रखरीसँग भनिन्, “काठमाडौंमा बदली हुनेछ ।”
देशका केही भूभागमा हावाहुरीको सम्भावना छ । विशेषगरी तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ ।
“कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् महर्जनले भनिन्, “यही ठाउँमा हावाहुरी चल्छ भनेर भन्न सकिँदैन, हिजो लुम्बिनीमा हावाहुरी चल्ने प्रणाली विकास भएर पूर्वसम्म पुगको थियो ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।
विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मधेस र कोसी प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा रहेको विभागले बताएको छ ।
नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।