
काठमाडौं । भारतका रक्षा मन्त्री राजनाथ सिंहले पाकिस्तानको आणविक हतियार अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले सुपरीवेक्षण गर्नुपर्ने बताएका छन् ।
उनको यो भनाइ लगभग तीन दशकदेखिको सबैभन्दा ठूलो सैन्य द्वन्द्वमा रहेका दुई देशबीचको पछिल्लो तनाव मत्थर भएकोे केही दिनपछि आएको हो ।
गत हप्ता भारतले कश्मीरमा २६ जनाको हत्याको प्रतिकारमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा हवाई हमला गरेपछि दुवै देशबीच झडप सुरु भएको थियो ।
कश्मीरमा २६ जनाको हत्या भएको घटनामा उसको सम्बन्ध रहेको भारतको आरोप पाकिस्तानले भने खारेज गर्दै आएको छ । दुवैले एकआपसमा मिसाइल र ड्रोन हमला गरेपछि शनिबार युद्धविराम भएको थियो ।
भारतका रक्षा मन्त्री सिंहले कश्मीरको राजधानी श्रीनगरमा सैनिकलाई बिहीबार सम्बोधन गर्दै भने, “यस्तो गैरजिम्मेवार र असभ्य राष्ट्रको हातमा आणविक हतियार सुरक्षित छ ? पाकिस्तानको आणविक हतियार आईएईएले नियन्त्रणमा लिनुपर्छ ।”
पाकिस्तानको विदेश मन्त्रालयले यो भनाइको आलोचना गर्दै भारतले असुरक्षा र निराशा देखाएको बताएको छ । उनीहरूले सामाजिक संजालमा लेखेका छन्, “पाकिस्तानले परम्परागत सैन्य शक्तिबाट भारतीय आक्रमणको प्रतिरोध गर्नसक्ने क्षमता देखेर भारत डराएको छ ।”
संयुक्त राष्ट्रसंघको निकाय आईएईएले विश्वभर भएका आणविक प्रविधि प्रयोगको सुपरीवेक्षण गर्छ । यसले शान्तिपूर्ण उद्देश्यका लागि मात्र आणविक प्रविधि प्रयोग भएको सुनिश्चित गर्छ ।
भारत र पाकिस्तानले सन् १९९८ मा एकअर्काको प्रतिस्पर्धामा आणविक परीक्षण गरेपछि आणविक शक्ति राष्ट्र बनेका थिए ।
गत शनिबार दक्षिण एशियाली छिमेकी देशबीच द्वन्द्व बढ्दै गर्दा पाकिस्तानले आफ्नो आणविक हतियार सम्बन्धी महत्वपूर्ण बैठक गर्ने घोषणा गरेको थियो । त्यसपछि आणविक युद्धको आशंका बढेको थियो । तर, पाकिस्तानी रक्षा मन्त्रीले त्यस्तो कुनै बैठक नभएको बताए । राेयटर्स