
विराटनगर । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापतिकी श्रीमती जोडिएको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन मुद्दामा उच्च अदालतले सक्कल मिसिल झिकाउने आदेश दिएको छ । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा कार्यालय रहेको यो कृषि सहकारीको मुद्दामा उच्च अदालत मोरङका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार (जेठ १) यस्तो आदेश दिएको हो ।
उच्चका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ भई सक्कल मिसिल झिकाउन आदेश आएको जानकारी दिए ।
२२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो मागदाबीसहित दर्ता गरिएको मुद्दामा सहकारीका अध्यक्ष शम्भु रौनियार, लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको थियो ।
सुरुमा पूर्ववडाध्यक्ष चौधरी मात्र पक्राउ परेका थिए । सहकारीका अध्यक्ष रौनियार र पूर्ववडाध्यक्ष चौधरीलाई पुर्पक्षनिम्ति थुनामा पठाउने आदेश दिइएको थियो । गएको पुस २४ गते अदालतमा उपस्थित भएकी कोइराला भने १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवाससित पाँच लाख धरौटी मागिएको थियो । उनी धरौटी रकम बुझाएर छुटेका थिए । यो मुद्दाका ६ प्रतिवादी जिल्ला अदालत मोरङको आदेशबाट धरौटीमा छुटेका थिए ।
जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्चमा पुगेको हो । उच्चका दुई न्यायाधीशको राय बाझिएपछि अर्को बेन्च तोकिएको थियो । न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले धरौटी एक करोड रुपैयाँ बनाउनुपर्ने राय दिएका थिए ।
मुद्दाको अर्को सुनुवाइ आउँदो बिहीबार हुने उच्चले जनाएको छ । उक्त सहकारी रकम अपचलन मुद्दामा २६ जनालाई प्रतिवादी बनाइएको छ ।