
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य क्षेत्रमा पनि थुप्रै बेथिति रहेको औँल्याएको छ । बुधबार सार्वजनिक ६२औँ वार्षिक प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा करोडौँ रुपैयाँ खर्चेर स्वास्थ्य उपकरण खरिद गर्ने तर त्यसको प्रयोग नगर्ने प्रचलन बढेको उल्लेख छ ।
कोसी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटरलगायत दुई करोड आठ लाख ६५ हजार रुपैयाँ मूल्यका पाँच प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैँले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटरलगायत चार करोड २९ लाख ६५ हजार रुपैयाँ मूल्यका सात प्रकारका उपकरण पनि प्रयोगमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विगतमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको पाँच करोड ५९ लाख ४९ हजार रुपैयाँ मूल्यको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर प्रयोगमा नल्याई थन्क्याइएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई करोड २५ लाख मूल्यको एक थान प्लाज्मा स्ट्रेलाइजर मेसिनलगायत उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
प्रतिवेदनानुसार, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड–१९ प्रयोजनका लागि स्थापना भएको १०० बेडको अस्पताल त्यसपछि डेंगी उपचारका लागि प्रयोगमा ल्याएकामा हाल भेन्टिलेटरसहितको २० बेड आईसीयू र सो अस्पतालमा प्रयोग भएका २४ करोड ५१ लाख ५२ हजार रुपैयाँको उपकरण बिग्रिएपछि सञ्चालनमा ल्याइएको छैन ।
“ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा उपयोग हुने ५० हजार ५०० अमेरिकी डलरको क्याथल्याब मेसिन तथा दुई करोड ५१ लाख ३२ हजार रुपैयाँ मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार रुपैयाँका पाँच थान सी. आर्म मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकमान काउल्टर बिग्रिएको कारण सञ्चालनमा रहेको छैन,” प्रतिवेदनमा भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन महालेखाले भनेको छ ।