site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सगरमाथा संवादमा राष्ट्रसंघका महासचिव नआउने, भिडियो सन्देश पठाउने
फाइल तस्बिर ।

काठमाडौं । नेपाल सरकारले आयोजना गर्ने सगरमाथा संवादको पहिलो संस्करणमा आफू नआउने भए पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देश भने पठाउने भएका छन् ।

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा जलवायु परिवर्तनका मुद्दामा केन्द्रित भएर सगरमाथा संवादको आयोजना गर्दैछ ।

उद्घाटन कार्यक्रमको लागि संयुक्त राष्ट्रसंघका महासचिवले भिडियो सन्देश पठाउने परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी हुन् ।

“संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ,” सगरमाथा संवादका बारेमा जानकारी दिने उदेश्यले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बताइन् ।

सगरमाथा संवादको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९ः३० बजे सुरु भएर ११ बजे सम्पन्न हुनेछ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने स्वागत मन्तव्य परराष्ट्रमन्त्री राणाले दिनेछिन् । सोही उद्घाटन कार्यक्रममा राष्ट्रसंघका महासचिवको भिडियो सन्देश प्रस्तुत गरिनेछ ।

राष्ट्रसंघका महासचिव गुटेरेसले २०८० कात्तिकको दोस्रो साता नेपालको चारदिने भ्रमण गरेका थिए । त्यतिबेला उनी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथा वेसक्याम्प र अन्नपूर्ण बेस क्याम्प पुगेका थिए । उनले संसद्लाई सम्बोधन पनि गरेका थिए ।

उनले त्यतिबेला जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका बारेमा विश्वलाई सन्देश दिन आफू नेपालमा आएको बताएका थिए । “नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ गुमाएको छ,” त्यतिबेला उनले भिडियो सन्देशमा भनेका थिए, “नेपालको ग्लेसियर्स (हिमनदी) अघिल्लो दशकको तुलनामा गएको दशकमा ६५ प्रतिशत छिटो पग्लिएको छ ।”

उनले सगरमाथाको फेदीबाट विश्वलाई दिएको सन्देशमा जलवायु परिवर्तनले नेपालको हिमालहरूमा असर गरेको जनाएका थिए । यसलाई उनले दुःखद् घटना बताएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्