
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनले १५० वटा थिएटरबाट ५० करोड कलेक्सन कल्पनाबाहिरको विषय भएको बताएका छन् । १५० वटा हलबाट ५० करोड ग्रसकलेक्सन एउटै चलचित्रबाट हुन्छ भनेर आफूले कहिल्यै नसोचेको उनको भनाइ छ ।
गत वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । सिंगल थिएटरमा पनि गरेको कलेक्सन जोड्दा करिब ५० करोड नेपालबाट मात्रै उठेको थियो ।
जयनेपाल सिनेमा हल खोल्दा आफूहरूले नेपाली सिनेमाबाट करिबकरिब ‘जिरो रेभिन्यू’मा काम गरेको उनले स्मरण गरे ।
‘लुट’ले नेपाली भाइरल सिनेमाको बाटो देखाएपछि स्वदेशी भाषाका सिनेमा अगाडि आएको उनको भनाइ छ । ‘लुट’ले देखाएको बाटोबाट त्यसको फाइदा ‘छक्का पञ्जा’ र ‘कबड्डी’ले उठाउन सफल भएको उनको भनाइ छ ।
“हामीले १५० वटा थिएटरबाट एउटै सिनेमाबाट ५० करोडभन्दा रेभिन्यू आउँछ भन्ने कल्पनाबाहिरको कुरा थियो,” केही दिनअगाडि एक अन्तरक्रियामा उनले भने, “केही वर्षयता लोकल सिनेमाले राम्रो गर्दै आएको छ ।”
नेपालमा विदेशी भाषाका सिनेमाभन्दा नेपाली सिनेमाको बजार राम्रो रहेको उनले बताए । दुई वर्षयता नेपाली सिनेमाको रेभिन्यू ६० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ ।
केही वर्षयता बलिउड र हलिउडको साम्राज्य रहेकामा त्यो केही वर्षयता कम भएको र ‘रिजनल’ सिनेमा फस्टाइरहेको उनको भनाइ छ । भारतमा पनि क्षेत्रीय सिनेमा उद्योगका चलचित्र चलिरहेको उनी बताउँछन् ।
“अहिले विश्वबाट हलिउड र बलिउडको साम्राज्य अस्ताइरहेको सयम हो । हलिउडको ठूलो साम्राज्य थियो । हलिउडको भन्दा केही सानो साम्राज्य बलिउडको थियो,” उनले भने, “अहिले यो साम्राज्य अस्थाइरहको छ ।” अहिदले संसारभर लोकल सिनेमा फस्टाइरहेको समय हो ।”
अहिले क्यूएफएक्स नेपाली सिनेमाको बजार खोज्न, आफ्नै मौलिक सिनेमा निर्माण र नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण गर्न लागि परेको उनले बताए ।
“लोकल सिनेमाले पनि बजार लिन यी सिनेमा पनि आफैँ राम्रो हुनुपर्छ,” नकिम भन्छन्, “दुई/तीन वर्षयता नेपाली मल्टिप्लेक्समा ६० प्रतिशत रेभिन्यू नेपाली चलचित्रको छ । यसलाई अझै बढाउने अवसर पनि हो अहिले ।”
नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरणका लागि वर्ल्ड सिनेमा रहेको ग्लोबल ओटीटी प्लेटफर्म चाहिने नकिम बताउँछन् । नेपाली सिनेमामात्रै रहेको ओटीटी प्लेटफर्ममा राखेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण नहुने उनको धारणा छ ।
वर्ल्ड सिनेमा रहेका ओटीटीमा नेपाली चलचित्र रहनुपर्ने उनको तर्क छ । अन्यथा नेपाली चलचित्र विश्व बजारमा पुग्न नसकेको उनको छ ।
नेपाली चलचित्र विश्व बजारमा पुर्याउन युट्युबमा अपलोड गर्न नहुने उनको तर्क छ । “नेपाली निर्माताले ७०/८० हजारमा चलचित्र किनेर केही देशमा देखाएर युट्युबमा हाल्दिनुहुन्छ,” नकिम भन्छन्, “यसरी सित्तैमा देखाएर नेपाली सिनेमा ग्लोबल अडियन्समा पुग्दैन । सित्तैमा सिनेमा हेर्न पाएपछि कसले पैसा तिरेर हेर्छ, कसले ओटीटीमा राख्छ ।”
यस्तै अवस्था रहे नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन समय लाग्ने उनको भनाइ छ ।