site stats
बाह्रखरी :: Baahrakhari
देश
रातो बत्तीमा रोकिएका बेला ठक्कर, तीनकुने दुर्घटनाको कारण बसको ‘ब्रेक फेल’

काठमाडौं । काठमाडौंको तीनकुनेमा बिहीबार (वैशाख २५) बिहान करिब साढे ६ बजे पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बसले ईभी भ्यान र मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलको पछाडि सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भयो । उपचारनिम्ति राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

बा३ख ७०६२ नम्बरको बसले कोटेश्वर–तीनकुने सडकको मुनीभैरव मन्दिरअगाडि बा प्र ०२–०५३ प ३८४७ को मोटरसाइकल र बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यानलाई ठक्कर दिएको हो । रामेछापको दोरम्बाका मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर घाइते छन् । उनको दाहिने हात ‘फ्याक्चर’ छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।

यस्तै, ईभी भ्यानका चालक काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्कीको टाउकोमा सामान्य चोट लागेको छ । बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी सामान्य घाइते छिन् । कान्तिपुर अस्पतालमा उनीहरू दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार, रातो बत्ती बलिरहेको अवस्थामा ईभी भ्यान र मोटरसाइकल सडकमा रोकिएका थिए । त्यहीक्रममा बसले ठक्कर दियो । “तीनकुने सडकको मुनीभैरव मन्दिरअगाडि रातो बत्तीमा रोकिएका थिए । त्यत्तिकैमा पछाडिबाट आएको बसले ठक्कर दियो,” एसपी गिरीले भने ।

उक्त बसका चालक रामकुमार खड्का र ईभी र मोटरसाइकल ट्राफिक कार्यालय रामशाहपथमा राखिएको छ ।

बसका चालकले ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको बयान दिएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए । “दुर्घटनालगत्तै प्रहरीले चालकलाई नियन्त्रणमा लियो । चालकले बे्रक फेल भएर दुर्घटना भएको बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेकोे छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्