site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुस्तकालय कब्जा गरेपछि कोलम्बिया विश्वविद्यालयका प्रदर्शनकारी पक्राउ

कााठमाडौं । अमेरिकामा मास्क लगाएका इजरायलविरोधी प्रदर्शनकारीको समूहले कोलम्बिया विश्वविद्यालयको बटलर पुस्तकालय कब्जा गरेपछि न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । त्यसक्रममा कम्तीमा विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएका र स्थानीय समयानुसार साँझसम्म लगभग ८० जनालाई पक्राउ गरिएको न्युयोर्क पोस्टले जनाएको छ । 

बुधबार दिउँसो पुस्तकालयको मुख्य ढोकामा सुरक्षा गार्डलाई धकेल्दै प्रवेश गरेका ८० जनाको एउटा ठूलो समूहमाथि केही घण्टापछि अभियोग लगाइएको छ । 

पुस्तकालयभित्र पुगेपछि उनीहरूले त्यसलाई ‘मुक्तक्षेत्र’ घोषणा गर्दै ठूलो ब्यानर टाँगेका थिए । अर्को ब्यानरमा सन् २०१७ मा इजरायली सुरक्षाकर्मीले पश्चिमी तटमा मारेका प्यालेस्टाइनी नागरिक बासेल अल–अराजको नाम लेखिएको थियो ।

उक्त विरोध प्रदर्शनक्रममा प्रदर्शनकारीले प्यालेस्टाइनी हेडस्कार्फ लगाएर ढोल बजाउँदै ‘फ्री, फ्री प्यालेस्टाइन’ भन्ने नारासहित ताली बजाएका थिए ।

प्रदर्शनमा करिब ८० जना सहभागी भएका थिए । उनीहरूले पुस्तकालयमा प्रवेश गरेर मुक्तक्षेत्र घोषणा गरे, पर्खालहरूमा लेखे । र, प्यालेस्टाइनी झन्डाहरू झुन्ड्याएका थिए ।

यो घटना त्यति बेला भयो, जब अरू विद्यार्थी वर्षको अन्त्यतिरको परीक्षा तयारीमा व्यस्त थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्