
काठमाडौंं । नेकपा (एमाले)का सांसद सूर्य थापाले सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या आएको भए प्रमुख नेताबीच छलफल गरेर खारेज गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसका नेताहरूको असन्तुष्टिप्रति संकेत गर्दै दुई दलको सहमतिमा नै काम भइरहेको बताए ।
“विमतिमा एउटै काम भएको छैन । अनि कसरी अखबारबाजी भएको देख्छु, एमालेकरण भयो । सत्ता साझेदारबीच संयन्त्रको अभ्यास समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरेर त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ,” उनले भने, “र, छलफल गरेर टुंगोमा पुगे हुन्छ । अस्थितरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैले पनि गर्न हुँदैन ।”
उनले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धाको निसाना सरकारतिर सोझ्याउन आवश्यक नभएको बताए ।
“आन्तरिक प्रतिष्पर्धा नै हो भने निसाना सरकारतिर सोझ्याउन आवश्यक छैन, त्यसो गर्न बन्द गर्नुपर्छ । आन्तरिक प्रतिष्पर्धाको अभ्यास आआफ्ना महाधिवेशनमा हुनेछन् । सरकार वा गठबन्धनलाई त्यसबाट प्रभावित गर्न हुँदैन,” उनले भने ।