site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा अवैधरूपमा बसेका अमेरिकी नागरिकको मृत्युपछि खुल्यो ‘अपराध’ !

काठमाडौं । फौजदारी अपराधशास्त्रको आधारभूत मान्यता हो, मान्छे मरेपछि उसले गरेको अपराध पनि उसैसित मर्छ । अमेरिकी नागरिक क्यारी नेइल मोब्लेको हकमासमेत यही मान्यता लागु भयो । आश्चर्यको कुरा, क्यारी नेइलको मृत्यु भएपछि उनका अपराधको शृङ्खला खुल्यो । 

उनी नेपालमा सन् २०२० देखि अवैध मात्र होइन कि यौन दुराचारमा समेत संलग्न रहेको तथ्य खुलेको हो । क्यारी नेइल वैशाख ११ गते ललितपुुरको बंगलामुखी मन्दिरनजिकै एक ‘होम स्टे’ मा मृत फेला परेका थिए । 
उनी घरको चौथो तलामा मासिक ७० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका थिए ।

ललितपुर प्रहरीका अनुसार, उनी बंगालमुखी नजिकको होम स्टेमा गएको चैत २ गतेदेखि मात्रै बस्दै आएका थिए ।  उनी सन् २०२० को जनवरी १ मा तीन महिनाको भिजिट भिसामा अमेरिकाबाट नेपाल प्रवेश गरेका थिए ।

उनको भिसा मार्च ३० मै सकिएको थियो । नेपालको अध्यागमन कानुनअनुसार, उनी सोही वर्षको मार्चमै नेपाल छाडेर फर्किनुपर्ने थियो ।्

तर, उनी नेपालको अध्यागमन कानुन उल्लंघन गरेर अवैध रुपमा नेपाल बसेनन् मात्रै पोखराको लेकसाइडमा बाल यौन दुराचार जस्तो गम्भीर अपराध कर्ममा सक्रिय भएको तथ्य उनको मृत्युपछि मात्रै खुलेको प्रहरीले जनाएको छ ।

क्यारी नेइल मोब्लेको मृत्यु शंकास्पद देखिएपछि ललितपुर प्रहरीले अनुसन्धान थालेको थियो ।  अनुसन्धानका क्रममा क्यारी बालयौन दुराचार जस्तो जघन्य अपराधमा पहिले पनि संलग्न रहेको तथ्य खुलेको हो । उनीसँगै बस्दै आएकी युवतीबारे पनि प्रहरीले अनुसन्धान गरेको थियो । 

म्याग्दी घर भएकी ती युवती उनीसँगै आएकी थिइन् । उनी चैत २३ गते पोखरा गएकी थिइन् र २०८२ वैशाख ९ गते ललितपुर फर्किएकी थिइन् ।

प्रहरीको अनुसन्धानका क्रममा ती युवती पोखरा फर्किएको केही दिनमै क्यारी नेइल मोब्ले बिरामी भए । त्यतिबेला उनले होटलकै सहयोगमा घरमै स्टाफ नर्ससमेत बोलाएर सामान्य उपचार गरेको खुलेको छ ।
प्रहरीका अनुसार, क्यारीको खुट्टामा समस्या देखिएको थियो ।

उनले दुखाई कम हुने औषधि सेवन गर्दै आएका थिए । अनुसन्धानका खटिएका प्रहरीका अनुसार, ११ गते बिहान पनि ३–४ वटा ट्याबलेट खाएको खुलेको छ ।

क्यारीसँगै रहेकी युवतीले प्रहरीलाई जानकारी गराए अनुसार, उनी कोक र दूधसित औषधी सेवन गर्थे । 

११ गते औषधी सेवन गरेपछि भने बान्ता गर्न थालेका थिए । तर, सहयोगी युवतीले अस्पताल जाउँभन्दा पनि जान नमानेका कारण क्यारीको राति मृत्यु भएको थियो ।

तर, सँगै रहेकी युवतीले बिहानमात्रै क्यारीको निधन भएको थाहा पाएकी थिइन् ।  प्रहरीले युवतीमाथि अनुसन्धान गर्दा उनको भूमिका शंकास्पद नदेखिएपछि हाजिरी जमानीमा छाडेको छ ।  प्रहरीले क्यारीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

तर, क्यारीको आफन्त नहुँदा पोस्टमार्टम अझै हुन सकेको छैन । पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीले नेपालस्थित अमेरिकी दूतावासलाईसमेत पत्र पठाइसकेको छ ।

अमेरिकामै पाएका थिए, यौन शोषणको सजाय

प्रहरीले क्यारी मृत फेला परेको कोठाबाट उनको राहदानी, मोबाइल, ट्याबलगायतका सामग्री फेला पारेको थियो । त्यही मोबाइल र ट्याबमा फेला परेका भिडियो तथा भिडियो संवादले उनी नेपालमा पनि यौन–शोषण अपराधमा संलग्न भएको तथ्य खुलेको हो ।

क्यारीमाथि जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मी (हाल धुनषा सरुवा) कोे टोलीले विशेष अनुसन्धान थालेको थियो । उनको टोलीले क्यारी नेपालमा समेत यौन शोषण अपराधमा संलग्न रहेको खुलाएको हो ।

एसपी रेग्मी भन्छन्, ‘‘उनी यौन शोषणमा लागेको देखिन्छ । पोखरामा बस्दा उमेर नपुगेका धेरै युवतीहरु आफैँसित राख्ने र अप्राकृतिक सम्बन्ध राखेको पनि भिडियोमा देखियो । केही युवतीहरु त उनको मृत्युको बेलासम्म पनि सम्पर्कमा रहेको खुलेको छ ।’’

उनी मृत फेला परेपछि पनि उनको मोबाइलमा युवतीहरुका फोन आउने गरेको प्रहरीले जनाएको छ । ती युवतीमाथि प्रहरीले अनुसन्धान गर्दा सबै नाबालिका रहेको खुल्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले फेला पारेको उनको राहदानीको ११ नम्बर पेजमा लेखिएको छ, ‘‘राहदानी बाहकलाई नाबालिकाविरुद्ध यौन अपराधमा दोषी ठहर्‍याइएको थियो र उनी संयुक्त राज्य संहिताको धारा २२ अनुसार एक रुपान्तरित यौन अपराधी हुन् ।’’

प्रहरीले उनी बसेको कोठाबाट अवकाशप्राप्त ‘डिपार्टमेन्ट अफ डिफाइन युनिफर्म्ड सर्भिस’ लेखिएको कार्डसमेत फेला पारेको छ । यसरी नै न्यूयोर्क स्टेट आइडिन्टिफेकेसन कार्डसमेत फेला परेको छ ।

तर, नेपालको अध्यागमनले क्यारीको पासपोर्टमै यौन अपराधमा दोषी भनी लेखिएको विषय प्रहरीलाई जानकारी नगराएको प्रहरी दाबी छ । उनी लामो समयदेखि नेपालमा समेत यौन अपराधमा सक्रिय भएको उनको मृत्युपछिमात्रै खुलेको हो ।

अनुसन्धानमा संलग्न प्रहरीले क्यारीबारे पासपोर्टमै सबैकुरा खुलाउँदा समेत प्रहरीलाई जानकारी नगराउनु अध्यागमन विभागको कमजोरी भएको बताएको छ ।

प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘‘कुनै देशको नागरिक कसरी आयो ? शंकास्पद छ वा छैन । त्यो हेर्ने निकाय अध्यागमन विभाग हो । अध्यागमन विभागले जानकारी गराएमा हामीले उनको भूमिका र उनको गतिविधि हेर्ने हो । क्यारीका हकमा पनि यो कुरा हामीलाई जानकारी भएको भए । उनलाई समयमै डिपोर्ट गर्नेदेखि आवश्यक कारबाही हुन्थ्यो । तर, उनको मृत्युपछि कुरा खुल्यो ।’’ 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्