site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको पुनरागमन जित, शीर्ष स्थानमा सात अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगामा रियाल भालाडोलिडविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । 

शनिबार राति भालाडोलिडकै मैदानमा सम्पन्न खेलमा घरेलु टिमले सुरुआती ६ मिनेटमै अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा राफिन्हा र फेर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले तीन अंक पक्का गरेको हो ।

छैटौँ मिनेटमा इभान सान्चेजको गोलमा भालाडोलिडले अग्रता बनाएको थियो । पहिलो हाफसम्म यो अग्रता कायम रहे पनि दोस्रो हाफमा भने क्याटालन क्लब खेलमा फर्कियो ।

५४औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए । त्यसको सात मिनेटपछि लोपेजले गोल गरेपछि क्याटालन क्लबले जित सुनिश्चित गरेको हो । 

जितसँगै ३४ खेलबाट ७९ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडले एक खेल कम खेल्दै ७२ अंक बनाएको छ । तेस्रो स्थानको एट्लेटिकोले भने ३४ खेलबाट ६७ अंक बनाएको छ । 

यो हारसँगै रेलिगेसनमा पर्ने निश्चित भइसकेको भालाडोलिडले भने ३४ खेल खेल्दा १६ अंकमात्रै बनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्