site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सिनेमाले भाग्य लिएर आउनुपर्छ’

काठमाडौं । करोडौँ रुपैयाँ लगानी गरेर बनाइएका चलचित्रको व्यापार पुनः निराशाजनक देखिएको छ । एकाध सिनेमाको बक्सअफिस कलेक्सन राम्रै देखिए पनि अधिकांशको अवस्था दयनीय छ ।

काममा मिहिनेत देखिएका र राम्रो प्रचार गरिएका चलचित्रको प्रदर्शन पनि फितलो छ । यसको पछिल्लो उदाहरणका रूपमा ‘खेल’ र ‘भूठान’लाई लिन सकिन्छ ।

‘भूठान’ निर्माणपक्षले केही फरक तरिकाले चलचित्रको प्रचार गरेको थियो । अमेरिकामा खिचिएको थियो । वर्ल्ड सिनेमाका दर्शकले ‘कनेक्ट’ गर्ने विषय (तेस्रो मुलुक पुर्‍याइएका भुटानी शरणार्थी) थियो । निर्देशक (विनोद पौडेल)को ‘ट्रयाक रेकर्ड’ पनि राम्रो थियो । मुख्य कलाकार हरिवंश आचार्यको अभिनयको चौतर्फी तारिफ भयो । तर पनि चलचित्र बक्सअफिसमा अति नै कमजोर देखियो ।

‘भूठान’सँगै एकैदिन रिलिज गरिएको चलचित्र ‘खेल’को अवस्था पनि त्यस्तै नाजुक रह्यो । सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्रले हलसम्म दर्शक तान्न सकेन । पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई चलचित्र क्षेत्रमा आउनुस् भनेर अमर्यादित टिप्पणी गरेको भन्दै सुरक्षाको आलोचना भइरहेका बेला ‘खेल’ पनि चलेन ।

सुरक्षा अभिनयमा अब्बल अभिनेत्री हुन् । ‘खेल’मा पनि उनको अभिनयको तारिफ भएको थियो ।

वैशाख १२ मा रिलिज गरिएका यी दुवै चलचित्रको व्यापारले निर्मातालाई चैन दिन सकेन ।
 
नयाँ वर्षलक्षित रिलिज गरिएका चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ले पनि राम्रो व्यापार गर्न सकेनन् ।

‘कर्मा’ यति कमजोर देखियो कि यो सिनेमा हेर्न दर्शक हल नै गएनन् । विपीन कार्की मुख्य भूमिकामा रहेको चलचित्र कस्तो थियो भनेर प्रतिक्रिया अर्थात् ‘वर्ड अफ माउथ’का निम्ति समेत पर्याप्त दर्शक हलमा गएनन् ।

‘पिताम्बर’ निर्माण टिमले आफ्नो चलचित्र सफल भएको भनेको छ । ‘पिताम्बर–२’ बनाउन आफूलाई दर्शकबाट दबाब आइरहेको निर्देशक कृषा चौलागाईंले बताएकी छन् ।

स्रोतका अनुसार, यो सिनेमाको कलेक्सन राम्रो देखिए पनि लगानी उठेको छैन । पाँच करोड रुपैयाँभन्दा माथि लगानी रहेका कारण हालसम्म त्यति कलेक्सन भएको छैन । बक्सअफिसबाट यो सिनेमाले लगानी उठाउन हालसम्मको भन्दा तीन गुणा बढी ग्रसकलेक्सन गर्नुपर्ने हुन्छ ।

चलचित्रको कलेक्सन रकमले कति नाफा/घाटा भयो भन्ने निर्धारण गर्दैन । यसको निर्धारण चलचित्रमा गरेको लगानीले गर्छ ।

गजबको हाइप बनाएका चलचित्रको बक्सअफिस पफर्मेन्स पनि कमजोर देखिएको छ । ‘वसन्त’ यसको उदाहरण हो । ‘वसन्त’ आफैँमा कमर्सियल मुभी थियो । बजारमा प्रकाश सपूतको ट्रयाक रेकर्ड पनि राम्रो थियो । निर्देशकका रूपमा भने उनको ‘डेब्यु’ थियो ।

‘वसन्त’ले पनि हाइपानुसार राम्रो ग्रसकलेक्सन गर्न सकेन । सामान्यतया बिदामा चलचित्रको ग्रसकलेक्सन राम्रो हुन्छ भनेर निर्माता त्यहीअनुसारको ‘रिलिज क्यालेन्डर’ बनाउँछन् । तर, योपटक बिदामै निर्माता निराश भए ।

बिदाको दिन वैशाख १ गते ‘पिताम्बर’ले राम्रो कलेक्सन गर्‍यो । त्योबाहेक अरू चलचित्रलाई बक्सअफिसमा बिदा लाभ भएन ।

धमाधम एकपछि अर्को चलचित्र किन ‘वास आउट’ भइरहेका छन् ? राजनीतिक, सामाजिक रूपमा पनि समाज ‘डिस्टर्व’ रहेको चलचित्र ‘भूठान’का निर्माता अवीरल थापा बताउँछन् ।

“हाम्रो मात्रै होइन, अहिले अधिकांश चलचित्र चलिरहेका छैनन् । राम्रो पब्लिसिटी भएका र प्रतीक्षित भनिएका चलचित्र पनि चलेको खबर छैन,” अवीरल भन्छन्, “राजनीतिक, सामाजिक रूपमा नै समाज डिस्टर्व छ जस्तो छ । आन्दोलनलगायत विभिन्न कारणले चलचित्र हेर्ने माहोल नै नबनेजस्तो लाग्यो । तर, यही नै यसको कारण हो भनेर भन्न सकिएन ।” ‘पूर्ण बहादुरको सारङ्गी’पछि खासै धेरै चलचित्र नचलेको उनको भनाइ छ ।

तिहारमा रिलिज गरिएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘होस्टेल–३’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पिताम्बर’ बक्सअफिस कलेक्सनमा अगाडि देखिए । ठूलो नाफा आर्जन गर्नेमा भने ‘अञ्जिला’ मात्र हो । अरू चलचित्र औसत कलेक्सनमै छन् । अधिकांश चलचित्र बक्सअफिसमा कमजोर देखिएका छन् ।

करोडौँ रुपैयाँ लगानी गरेर बनाइएका, पब्लिसिटीमा धेरै रकम खर्च गरिएका र राम्रो हाइपका चलचित्र नै हेर्न दर्शक हलमा नगएपछि निर्माता तनावमा देखिएका छन् ।

निर्देशक मिलन चाम्स स्थापित कलाकार राख्दा पनि सिनेमा पहिलो दिन नै नचल्ने, नयाँलाई खेलाउँदा नोटिस नहुने भएपछि निर्माता र निर्देशकमा तनाव थपिएको बताउँछन् ।

“केही समययता नेपाली चलचित्र उद्योगमा अचम्मै देखिएको छ । सोच्दै नसोचेको भइरहेको छ,” उनी भन्छन्, “समग्र नेपालले नै इज्जत गर्ने कलाकार हरिवंश आचार्यको चलचित्र हेर्न पहिलो दिन नै दर्शक हलमा नगएको देख्दा म साँच्चै अचम्ममा छु ।”

हरिवंशजस्ता कलाकारले साइन गर्दा नै चलचित्रको हाइप बढ्ने गरेको मिलन सुनाउँछन् । देशले इज्जत गर्ने कलाकार अभिनीत सिनेमा समेत इनिसियल नचल्दा कस्तो चलचित्र कसलाई लिएर बनाउने भन्ने अन्योल निर्माता/निर्देशकमा देखिनु स्वाभाविक भएको उनको भनाइ छ ।

दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाहीजस्ता कलाकार एउटै चलचित्रमा हुँदा समेत सोचेजस्तो बजार नहुनु आफैँमा अनौठो भएको मिलन टिप्पणी गर्छन् ।

“दर्शक सुरुमै म यो मात्रै चलचित्र हेर्छु भनेर बस्ने हो कि के हो ! बुझ्नै सकिएन । रोजाइका कलाकार राख्दा पनि नहुने, राम्रो पब्लिसिटी गर्दा पनि नहुने,” मिलन भन्छन्, “यसले साँच्चै अब के गर्ने भन्ने प्रश्न उठेको छ । अब कसरी अगाडि बढ्ने भन्ने भएको छ ।”

विदेशमा खिचिएका चलचित्रप्रति दर्शकमा खासै धेरै आकर्षण नदेखिने उनको अनुभव छ । आफ्नो ‘वर एन्ड वधू’मा पनि धेरै चासो नदेखिएको उनी बताउँछन् ।

“विदेशमा खिचिएको भनेपछि खासै धेरै चासो नदिने गरेको चाहिँ म आफैँले पनि वर एन्ड वधूमा तितो अनुभव गरेको छु,” उनी भन्छन्, “यसको कारणचाहिँ मलाई पनि थाहा छैन ।”

चलचित्रको पछिल्लो बजारले सिनेमा राम्रो मात्र भएर नहुने प्रस्ट भएको उनको धारणा छ । “चलचित्र राम्रो भएर मात्रै हुँदैन, त्यसले सँगै भाग्य पनि लिएर आउनुपर्छ,” मिलन भन्छन्, “म बेलाबेलामा भन्छु– चलचित्र राम्रो बनाएर मात्रै हुँदैन, त्यसले भाग्य लिएर पनि आउनुपर्छ भन्ने गरेको छु । यसलाई पछिल्लो समयको बजारले पुष्टि गरेको छ ।”

दर्शकले चलचित्र हेर्न रुचि नदेखाउँदा करोडौँ रुपैयाँ लगानीमा निर्मित सिनेमा १५/२० लाख रुपैयाँ ग्रसकलेक्सनमा अड्कने गरेको उनी बताउँछन् ।

केही वर्षअगाडिसम्म पनि होहल्ला र प्रचारका भरमा जुनसुकै चलचित्रले न्यूनतम व्यापार गर्ने गरेको उनी स्मरण गर्छन् । मिलन भन्छन्, “मेरै चलचित्र वर एन्ड वधू ५० लाख नपुग्दै बक्सअफिसमा अड्कियो ।”

चलचित्र विकास बोर्डले उपलब्ध गराएको तथ्यांकानुसार, ‘वर एन्ड वधू’ले ३२ लाख रुपैयाँ कलेक्सन गरेको थियो । यो चलचित्र मिलनले विदेशमा पनि खिचेका थिए ।

कहिलेकाहीँ औसत सिनेमा चल्ने, कुनै समय राम्रा चलचित्र पनि बक्सअफिसमा ओझेल पर्ने गरेको निर्देशक मिलन बताउँछन् । त्यसैले सिनेमाको पनि ‘भाग्य’ हुने उनी टिप्पणी गर्छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्