
काठमाडौं । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा यहुदी र मुस्लिममाथि हुने भेदभावसम्बन्धी आन्तरिक प्रतिवेदन सार्वजनिक भएपछि विश्वविद्यालयका अध्यक्ष एलन गार्बरले माफी मागेको बीबीसीले जनाएको छ ।
हार्वर्ड अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । सार्वजनिक प्रतिवेदनमा विद्यार्थीहरूको भनाइ समावेश छ जसमा उनीहरूले आफ्ना साथी र शिक्षकहरूले एक्ल्याएकोे र दबाब महसुस गरेको बताएका छन् । जसका कारण आफूहरू पहिचान लुकाउन बाध्य भएको उनीहरूको भनाइ छ ।
प्रतिवेदन बाहिरिएपछि यसको प्रतिक्रियामा हार्वर्डले विश्वविद्यालयकोे शैक्षिक प्रस्तावहरू र प्रवेश नीतिहरूको समीक्षा गर्ने प्रतिबद्धता जनाएको छ । यो ट्रम्प प्रशासनको पनि मुख्य माग हो, जसले क्याम्पसमा यहुदीविरोधी भावना अन्त्य गर्न असफल भएको आरोप लगाएको थियो ।
गत वर्षको इजरायल–गाजा युद्धको विरोधमा प्रो–प्यालेस्टिनी प्रदर्शनपछि हार्वर्डमा भेदभाव छानबिन गर्न दुईवटा कार्यदल गठन गरिएको थियो ।
“हामीले स्थापित गरेको उच्च अपेक्षाहरू पूरा गर्न असफल भएकोमा म माफी माग्न चाहन्छु,” डा. गार्बरले मंगलवार प्रतिवेदनसँगै प्रकाशित एक पत्रमा भने ।
उनले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको हमला र त्यसपछिको इजरायली गाजा बमबारीले हार्वर्ड विश्वविद्यालयमा लामो समयदेखि उठ्दै गरेको तनाव अन्त्य भएकोे बताए ।
“हाम्रा सदस्यहरूले आफ्नो पहिचानका आधारमा लक्षित र बहिष्करण महसुस गराउने घटनाहरूको रिपोर्ट गरेका थिए,” डा. गार्बरले भने, “हार्वर्डले संकीर्णतालाई सहन गर्दैन र गर्नेछैन ।”