
नेपाली गजल विधामा कलम चलाउने सर्जकमध्ये एक चर्चित नाम हो, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ । उनका थुप्रै गजलकृति प्रकाशित छन् । गजल विषयमै उनले विद्यावारिधि गरेका छन् ।
एउटा हिन्दी गजलसंग्रह समेत ल्याइसकेका परिश्रमी विशेषतः यसको सिद्धान्त समातेर बहरमा गजल लेख्न रुचाउँछन् । र, गजल बहरमै लेख्नुपर्नेमा जोड दिन्छन् ।
एक समय कविता, कथामा समेत कलम चलाएका परिश्रमी नेपाली गजल हाल राजमार्गतर्फ अघि बढेको विचार व्यक्त गर्छन् । डा. परिश्रमी भन्छन्, “प्रतिकूलतामा पनि गजल लेखेर हामीले बाँझो फाँड्ने काम गरेका हौँ ।”
कतिपयलाई गजल लेखन जटिल लाग्छ । त्यसैले केही लेखक गजल लेख्न नसकेर आफ्नै विधामा फर्किएको उनी बताउँछन् ।
यस्तै विचार व्यक्त गर्ने बर्दघाट प्रज्ञा–प्रतिष्ठानका कुलपति समेत रहेका डा. परिश्रमीलाई बाह्रखरीको यसपटकको गजल गंगामा प्रस्तुत गरेका छौँ ।