
काठमाडौं । काठमाडौंमा जारी आठौँ शेरबहादुर खड्का स्मृति महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले एभरेष्ट क्लबलाई पराजित गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपीएफले एभरेष्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले एभरेष्टलाई २५–१९, २५–१५ र २५–१० ले हराएको हो ।
त्यस्तै, बिहीबार नै भएको पहिलो खेलमा आर्मीले पनि एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले एभरेष्टलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । हारसँगै एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ ।
अब सेमिफाइनलमा एपीएफ क्लबले न्यु डाइमण्ड क्लब र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसअन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।