site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुने घटना अनुसन्धानमा सहयोगी बनेको भिडियो, प्रहरीका चार युनिट सक्रिय छन् !

काठमाडौं । तीनकुने घटनाबारे काठमाडौं प्रहरीलाई सहयोग गर्न प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित अन्य तीनवटा कार्यालयको टोलीसमेत खटाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीको अपराध अनुसन्धान विभागका एसएसपी कृृष्ण पंगेनीसहित उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रविण धितालसमेत खटाएको हो ।

उनीहरुबाहेक जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नानीकाजी थापा र उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुर शाखाका इन्स्पेक्टर राजेश महर्जनलाई समेत तीनकुने घटनाबारे अनुसन्धानमा सघाउन खटाइएको प्रहरीले जनाएको छ ।

एसएसपी पंगेनीसहितको टोलीलाई एकसाता अघिनै खटाइएको एक प्रहरी अधिकारीले जानकारी दिए । 

तीन अधिकारीले भने,‘‘अनुसन्धानको मुख्य जिम्मेवारी काठमाडौं प्रहरीकै हो । तर, उनीहरुलाई पनि अनुसन्धान गर्न थप सहज होस् भनेर केही प्रहरी अधिकारीलाई पनि खटाएका हौँ ।’’

तीनकुने घटनामा ठुलो समूहले अराजक प्रदर्शन गरेको र अनुुसन्धान गर्दा विभिन्न विधि अपनाउनुपर्ने देखिएपछि अनुसन्धानमा कमजोरी नहोस् भनेर अन्य कार्यालयबाट समेत प्रहरी खटाइएको प्रधान कार्यालयको भनाइ छ ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौैंका एसपी कुलदीप चन्द नेतृत्वको टोलीले गरिरहेको छ । 

गएको चैत १५ मा राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक बनेको थियो ।  उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन मर्हजन र ताहाचलका सुरेश रजकको ज्यान गएको थियो ।
प्रदर्शनका संयोजक नवराज सुवेदी थिए भने जनकमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए । 

घटना अराजक बनाएको आरोपमा प्रहरीले दुर्गा प्र्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणालाई समेत पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले दुर्गा प्रसाईंविरुद्ध पाँचवटा मुद्दा चलाएको छ ।

राज्यविरुद्धको कसुर, संगठित अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र सामाजिक उपद्रको मुद्दा चलाएको छ ।  रवीन्द्र मिश्रमाथि राज्य विरुद्धको कसुर, संगठित अपराधमा मुद्दामा अनुसन्धान थालिएको छ ।

पक्राउ परेका २१ जना छाडियो

काठमाडौं प्रहरीले प्रदर्शन अराज गर्ने र विभिन्न सरकारी कार्यालय आगजनी गर्ने, लुटपाट गर्ने ८५ जनाविरुद्ध मुद्दा चलाएको छ ।  यसरी मुद्दा चलाइएकाहरुमध्ये राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २१ जनालाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने गरी हाजिरी जमानीमा छाडिएको छ ।

६४ जनालाई भने प्रहरीले थुनामा नै राखेर अनुसन्धान थालेको छ ।  पक्राउ परेकाहरुलाई प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । धवलशमशेरको उपचारका लागि छाडिएको हो । अन्य छाडिएकोहरुको हकमा उनीहरुको भूमिका सामान्य देखिएपछि आवश्यक पर्दा हाजिर हुनेगरी छाडिएको हो । 

त्यसरी छाडिएकाहरुमा अधिकांश कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा चोरी गर्नेहरु छन् । छाडिएकाहरुविरुद्ध पनि मुद्दा भने अदालत पुग्ने प्रहरीले जनाएको छ ।  प्रहरीलाई तीनकुने घटना अनुसन्धानको प्रमुख सहयोगी विभिन्न व्यक्तिले खिचेका भिडियोहरु बनेका छन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार प्रहरीले विभिन्न मिडिया तथा युट्युवहरुमा आएका भिडियोहरुलाई विश्लेषण गरेर व्यक्ति पहिचानदेखि उनीहरुको उच्छृङ्खल गतिविधि पहिचान गरेर मुद्दा चलाएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्