site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंको कारोबार शंकास्पद ! बैंकिङ्ग कसुर र सम्पत्ति शुद्धीकरणमा यसरी हुँदैछ अनुसन्धान 

काठामडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध आर्थिक कारोबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मा अनुसन्धान थालेको छ ।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै तीनकुनेमा अराजक प्रदर्शन गरेको कसुरमा २८ चैतमा पक्राउ परेका प्रसाईंविरुद्ध अनुुसन्धानका लागि सीआईबीले अर्को विषय अघि सारेको स्रोतले जानकारी दिएको छ ।

सीआईबीका प्रवक्ता एसपी सुधीर शाहीका अनुसार प्रसाईंविरुद्ध बैंकिङ्ग कसूर र सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) कसुरमा सीआईबीले अनुसन्धान थालेको छ। त्यसका लागि सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ अनुमतिसमेत पाइसकेको छ ।

तर, प्रसाईं यसअघि नै पक्राउ परेका कारण उनलाई बयानका लागि जिल्ला प्रहरी परिसरबाट सीआईबी लैजाने तयारी छ । काठमाडौं प्रहरीले प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान जारी राखेको छ । 

त्यसबाहेक प्रहरीले थप तीनवटा कसुरसमेत आकर्षित हुने भन्दै अनुसन्धान थालेको छ ।  उनीमाथि ज्यान मार्ने उद्योग, आगजनी तथा सामाजिक उपद्र र कर्तव्य ज्यान मुद्दामासमेत अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

चैत १५ गते आयोजना गरिएको प्रदर्शनका कमान्डर समेत तोकिएका प्रसाईंसहित प्रदर्शनकारीले अराजक गतिविधि गर्दा नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको बताउँदै आएको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि सयौँ राउन्ड गोली र सातसय भन्दा बढी अश्रुग्यासको सेल फायर गरेको थियो । 

प्रहरीको गोली लागेर त्यसदिन काठमाडौंमा दुईजनाको ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ८४ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये नौ जनालाई थुनाबाहिर राखेर अनुसन्धान थालिएको छ । 

त्यसमध्ये राप्रपा महामन्त्री एवम् सांसद धवलशमशेर जबरा पनि छन् ।

यी हुन् प्रसाईंविरुद्ध अनुसन्धानका लागि तयार पारिएका आधार 

सीआईबीले दुर्गा प्रसाईंको अवैध कारोबारबारे केही समय अघिदेखि नै अनुसन्धान थालेको थियो ।  उनी सम्बद्ध कम्पनी तथा उनी नजिकका व्यक्तिको खातामा अस्वाभाविकरूपमा भित्रिएको रकमका बारेमा अनुसन्धान यसअघिदेखि नै थालिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार प्रसाईं, उनका आफन्त र उनी सम्बद्ध कम्पनीको कारोबार शंकास्पद छ । पछिल्लो समय राष्ट्र बैंकमार्फत् नै पत्राचार भएपछि सीआईबीले पक्राउ अनुमति नै लिएर अनुसन्धान थालेको हो ।

राष्ट्र बैंकले दुर्गा प्रसाईंले विभिन्न मितिमा लिएका बैंकको कर्जा तथा लगानीबारे अनुसन्धान गर्न पत्राचार गरेको सीआईबीका एक अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले २०८१ माघ २३ गते नै दुर्गाबारे अनुसन्धान गर्न पत्राचार गरेको थियो । 

ती अधिकारीले भने, ‘‘दुर्गाको अवैध कारोबार र विभिन्न बैंकबाट लिएको कर्जाबारे हामी पहिलादेखिनै अनुसन्धान गरि नै राखेका थियौँ । पछिल्लो समय राष्ट्रबैंकको समेत पत्राचारपछि पक्राउ अनुमति पनि लिएका हौँ ।’’

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अर्बौं रुपैयाँ ऋण लिएर नतिरी विभिन्न बहानामा आलटाल गर्दै आएको आरोप लागेको छ । सीआईबीले मूख्यतः प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत मुद्दामा अनुसन्धान थालेको छ ।

यी बुँदालाई केन्द्रित गरेर अनुसन्धान थालिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

१–जुन प्रयोजनका लागि ऋण लिए त्यसमा खर्च नगरी अन्यत्र प्रयोग गरेको ।
२– कर्जा चुक्ता गर्न अर्को नाममा कर्जा लिएर दुरुपयोग गरेको ।
३– बैंकवाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने भए पनि ठुलो रकम आफ्नै अन्य कम्पनीमा खर्च गरेको ।
४– बी एन्ड सी मेडिकल कलेजका लागि लिएको ऋणको ब्याजसमेत नियमित भुक्तानी नभएको 
५–परियोजना ठूलो देखाएर बढी रकम लिएको ।
६–ऋणी फर्म/कम्पनीका अन्तिम हिताधिकारी आफैँ रहेको ।
७–बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको ।
८–
प्रसाईंका परिवार र निजहरु सम्बद्ध फर्म र कम्पनीका नाममा रहेको बैंक खातामा शंकास्पद कारोबार देखिएको ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुुसन्धानका क्रममा १ नम्बर बुँदाअनुसार प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरु जुन प्रयोजनको लागि लिएको हो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको पुष्टि भइसकेको छ ।

ती अधिकारीका अनुसार प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँसहित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको रकम अन्यत्र लगानी गरेको पाइएपछि अनुसन्धानका लागि राष्ट्र बैंकले प्रहरीलाई पत्राचार गरेको हो ।

त्यस्तै प्रसाईंले सम्पत्तिको स्रोत लुकाउन शंकास्पद कारोबार गरेको देखिएको हुँदा त्यसमा अनुसन्धान सुरू भएको प्रहरी अधिकारीले जानकारी गराएका छन् । सीआईबीले उनीविरुद्ध बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमिजिम अनुसन्धान थालेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्