
काठमाडौं । नेपालगन्ज रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके–११ लाई ३–० ले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आइतबार रौतहटलाई जित दिलाउन खेलको पहिलो हाफको २८औँ मिनेटमा जेनिफर रानामगरले एक गोल गरिन् ।
जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै उत्साहित बनाएको थियो । खेलको पहिलो हाप सकिँदासम्म बाँकेका तर्फबाट कसैले पनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा पनि बाँकेले कुनै उपलब्धि हासिल गर्न सकेन । रौतहटका तर्फबाट खेलको दोस्रो हाफको ४५औँ मिनेटमा समीक्षा राईले एक गोल गरिन् ।
दोस्रो हाफमा समीक्षाले अर्को गोल रौतहटका तर्फबाट गरिरहँदा बाँके–११ ले निकै सकसपूर्ण खेल खेलिरहेको थियो । निकै राम्रो प्रस्तुति दिइरहेकी बाँके–११ कि गोलकिपर राधिका वली घाइते भएपछि बाँकेको टिमले सोचे अनुसारको प्रस्तुति दिन सकेन । यद्यपि, अन्तिम अवस्थासम्म बाँकेले कोसिस जारी राख्यो भने रौतहटले पनि धेरै पटक गोल गर्न सक्ने अवसर गुमायो ।
रौतहटकै तर्फबाट खेलको ५१औँ मिनेटमा पियुली रोयले गरेको गोल निर्णायक बन्न पुग्यो । आजको खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । उनले नगद पाँच हजार रुपैयाँ पाइन् ।
रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपीएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।