site stats
बाह्रखरी :: Baahrakhari
देश
कुलमान र हितेन्द्रको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइले निरन्तरता पाउनेछ ।

मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको थियो । चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुने/नहुने निर्णय गर्नेछ ।

मंगलबार कुलमान र हितेन्द्रको मुद्दाको सुनुवाइ लम्बिएपछि चुडाल र पाण्डेको इजलासमा परेका अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । तर, आज यस इजलासमा कुलमान र हितेन्द्रको रिटमात्र राखिएको छ ।

सरकारले चैत १२ गते मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले चैत १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरेका छन् ।

त्यही दिन कार्यकारी निर्देशकमा काम थालेका हितेन्द्रले पनि आफूलाई गैरकानुनीरूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका थिए ।

०६८ साल साउनमा हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति दिएको विरुद्ध आफ्नो रिट अदालतमै रहेको भन्दै कुलमानलाई पुनः आफ्नो नियुक्तिमा प्रश्न उठाउने अधिकार नरहेको दाबी उनको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्