site stats
बाह्रखरी :: Baahrakhari
देश
मदन भण्डारी विश्वविद्यालय : अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै

काठमाडौं । मकवानपुरको चित्लाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृष्ट कार्य गर्दै छ । विश्वविद्यालय वि.सं. २०७९ साउन १८ गते संघीय संसद्बाट पारित भएको ऐनमार्फत स्थापना भएको हो ।

उक्त ऐनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई व्यापक स्वायत्तता प्रदान गरेको छ, जसले यसलाई एक विश्वस्तरीय, अनुसन्धानमुखी संस्थाको रूपमा विकास हुने अनुकूल वातावरण सिर्जना गरेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थापनाको दोस्रो वर्षमै अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको छ ।

हालै मात्र विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गरेको अनुसन्धानवृत्ति प्राप्त गरेका छन् ।

खुल्ला प्रतियोगितामार्फत विश्वविद्यालयका ६ जना प्राध्यापक तथा अनुसन्धानकर्ताले विभिन्न विधामा २८ लाखभन्दा बढीको अनुसन्धानवृत्ति प्राप्त गरेका छन् ।

उक्त अनुसन्धानवृत्ति प्राप्त गर्ने प्रमुख अनुसन्धानकर्ताहरूले विभिन्न क्षेत्रमा अनुसन्धान गर्नेछन् ।

सस्टेनेबल तथा रेजिलिएन्ट पूर्वाधार कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता डा. किर्तिकुसुम जोशीले  दिगो र लचक भवन निर्माणमा परम्परागत गिटीगढी विषयमा, अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा. भुषण श्रेष्ठले नेपालको औषधिय च्याउबाट स्वास्थ्यसेवा उत्पादन विषयमा, फरेस्ट बायोमटेरियल प्रोग्रामका डा. सविना श्रेष्ठले चित्लाङको बिरुवाबाट प्राकृतिक खाद्य रंङको प्रयोग विषयमा अनुसन्धान गर्नेछन् ।

अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा. सर्वेशदास डंगोलले नेपालको स्थानीय कोदो र चामलको संरक्षणका लागि रोग पत्ता लगाउने विषयमा, डिजिटल प्रविधि प्रोग्रामका डा. रिजन महर्जनले प्रविधिको प्रयोगमार्फत प्लास्टिक फोहोर व्यस्थापन विषयमा, तथा फरेस्ट बायोमटेरियल प्रोग्रामका डा. झसनाथ अधिकारी सुबिनले मलिक्युलरडकिंग गणना निर्माण रेडी लिगांड डाटाबेस विषयमा अनुसन्धान गर्नेछन् ।

त्यसैगरि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित अनुसन्धानवृत्तिका लागि खुल्ला प्रतिस्पर्धामार्फत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले १२ लाखको अनुसन्धानवृत्ति प्राप्त गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको 'युवा वैज्ञानिकहरूको लागि अनुसन्धान सहयोग' कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८१/२०८२ मा बहुविधागत विधामा प्रमुख अनुसन्धानकर्ता डा. सर्वेशदास डंगोलले पोलिमरासेस कोइनभिट्रो उत्पादन तथा ग्रहण  विषयमा अनुसन्धानवृत्ति प्राप्त गरेका हुन् ।

अन्तर्राष्ट्रियस्तरमा पनि यस विश्वविद्यालयका अनुसन्धानकर्ताले अनुसन्धानवृत्ति प्राप्त गरेका छन् । फिलिपिन्सको बहाए फाउन्डेसनको टिकाउ सामग्रीहरूबाट सुलभ, विपद्प्रतिरोधी, तथा वातावरणमैत्री घरहरू निर्माणसम्बन्धी अनुसन्धान गर्न २५ लाखको अनुसन्धानवृत्ति डा. किशोर तिमल्सिनाले प्राप्त गरेका छन् ।

हाल डिजिटल प्रविधि, अर्ग्यानिक एग्रीकल्चर, फरेस्ट बायोमटेरियल विषयका पाँचवटा अनुसन्धान प्रयोगशाला संचालन गरिरहेको उक्त विश्वविद्यालयले निकट भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशाला स्थापना गर्नेछ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नवीनतामा जोड दिँदै, नयाँ ज्ञान तथा प्रविधि उत्पादन गरी नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउने र देशको आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान दिने लक्ष्य राखेको छ ।

मकवानपुरको चित्लाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले वैज्ञानिक उन्नतिको केन्द्र तथा क्षेत्रीय र राष्ट्रिय विकासको प्रमुख प्रेरकशक्ति बन्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्