site stats
बाह्रखरी :: Baahrakhari
देश
क्षयरोगका ४० प्रतिशत बिरामी लुकेर बसेको हुन सक्ने अनुमान, संक्रमितमा पुरुष धेरै

काठमाडौं । क्षयरोगका ४० प्रतिशत बिरामी समाजमा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार ७७६ जना बिरामी उपचाररत रहेको जानकारी दिए ।

उनका अनुसार, नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेका छन् । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

डा. तिवारीले क्षयरोगी बिरामीहरूमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको जानकारी दिए । चौध वर्षमुनिका बालबालिकामा समेत क्षयरोगको संक्रमण बढ्दै गएको उनको भनाइ छ । क्षयरोग बिरामीहरूमध्ये १४ वर्षमुनिका बालबालिका ८.६ प्रतिशत छन् ।

"अझै पनि ४० प्रतिशत बिरामी समाजमा लुकेर बसेको हुन सक्ने हाम्रो तथ्यांकले देखाएको छ । त्यस्ता बिरामीहरू पत्ता लगाउन हामीले विभिन्न क्रियाकलपा गरिरहेका छौँ । त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ," डा. तिवारीले भने । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्