site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विशाल बिहानीका दुई गजल

गजल – एक 
बुझेको छु, मैले दुखाई हजुरको
छु हाँसेको, पीडा लुकाई हजुरको ।।

जोगाई राख्ने छौँ यो माया जीवनभर
छ आशा भरोसा मलाई हजुरको ।।

बाआमा तपाईंको घट्दैन कहिले
सगरमाथा जस्तो उँचाइ हजुरको ।।

ममाथि करोडौँ लगानी गरेको
यही नाम हो बा, कमाई हजुरको ।।

कैयौँ टाढा हुन्छन्, छु मैले देखेको
अनेकौँ बहाना बनाई हजुरको ।।

०००

गजल – दुई 
कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु
संघर्षले बनेका बाका घाउलाई के सोध्नु ।।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँढामाथि हिँड्ने बाउलाई के सोध्नु ।।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ, साँची राखेर यो गाउँलाई के सोध्नु ।।

यहाँ आज जति बनेको छु, जे बनेको छु म
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।।

(अछाम)
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्